अगमवाणी, अगमवक्ताहरू अनि आजको मण्डली। बाइबलले यसको बारेमा के भन्छ ? के आज पनि मण्डलीमा अगमवक्ता हरू छन्? आज हामी यी नै विषयमा चर्चा गर्ने छौ।
अगमवाणी र अगमवक्ताको सामान्य परिभाषा || Agambani ra Agambakta Bhaneko ke Ho?
अगमवाणी भन्नाले सरल भाषामा "परमेश्वर बाटको सन्देश" भनी बुझ्न पर्दछ भने अगमवक्ता चाँहि त्यस ईश्वरीय सन्देशलाई जस्ताको तस्तै मानिस सँग बोल्ने व्यक्ति।
अब, अगमवाणी र अगमवक्ताहरु बारे सही तरिकाले बुझ्न हामी बाइबल बाट हेर्न अतिनै महत्वपूर्ण हुन्छ।
बाइबलमा अगमवाणी || Bible ma Agambani
बाइबल, पुरानो र नयाँ करार दुबै परमेश्वरको अगमवाणीको वचनहरूले भरिएका छन्। पुरानो करारमा थुप्रै अगमवक्ताहरू द्वारा परमेश्वरले बोल्नुभएको अगमवाणीका वचनहरू रेकर्ड गरिएका छन्। ती अगमवाणीका वचनहरू विभिन्न समय र परिस्थितिहरूमा परमेश्वरको विशेष उद्देश्य साथ बोलिएका थिए, तापनि सबै अगमवाणीहरूले येशू ख्रीष्ट र मानव जातिको लागि उहाँ बाट आउने छुटकारा तथा उद्धार मुक्ति तर्फ औँल्याएको कुरामा कुनै ख्रीष्टियनको दुई मत छँदै छैन। येशू आफैले पुरानो करारको अगमवाणीहरूले उहाँको जीवन, मृत्यु र पुनरुत्थान बारे बताएको कुरा चेलाहरूलाई स्पष्ट पार्नु भयो भनी लूका २४: २७ र ४४ मा उल्लेख गरिएको छ भने प्रेरितहरूले पनि सो कुरालाई जोड दिएको कुरा हामी प्रेरित १०:४३ र २८:२३ मा क्रमश: पाउँछौँ।
यता नयाँ करारलाई हेर्दा सुसमाचारको पुस्तक देखी प्रेरितको पुस्तक हुँदै, पावलका पत्रहरू, अन्य पत्रहरू र प्रकाशको पुस्तक सम्म सबै अगमवाणीले भरिएका छन्। येशू आफैले बोल्नुभएको अगमवाणीको वचनहरू सुसमाचारको पुस्तकहरूमा उल्लेखित छन् भने प्रेरितहरू लगायत उहाँको जनहरू द्वारा रेकर्ड गरिएको अगमवाणीको वचनहरू त्यस पछिका पुस्तकहरूमा पाउँछौँ। त्यसै गरी आफ्नो प्रिय चेला प्रेरित यूहन्ना पदमोसको टापुमा हुँदा येशू ख्रीष्टले प्रकाश द्वारा उनलाई दिनुभएको वाणीहरू हामी बाइबलको अन्तिम पुस्तक, प्रकाशको पुस्तकमा पढ्न पाउँछौँ।
पुरानो र नयाँ करारका यी सबै अगमवाणीहरू कति पुरा भैसकेका छन्, कति पुरा भैरहेका छन् भने कति चाहिँ येशू ख्रीष्टको दोस्रो आगमन पश्चात पुरा हुनेछन। उदाहरणको लागि: मत्ती १६:२१ मा येशूले आफ्नो मृत्यु र पुनरुत्थान बारे गर्नुभएको भविष्यवाणी पुरा भैसकेको छ, मत्ती २४:१४ मा संसारको सबै जातिहरूमा उहाँको सुसमाचार प्रचारिनु पर्ने येशूको भविष्यवाणी पुरा भैरहेको छ भने मत्ती २४:३९ मा येशूले गर्नुभएको उहाँको दोस्रो आगमनको भविष्यवाणी पुरा हुन बाँकी छ।
बाइबलमा अगमवक्ताहरू || Bible maa Agambakta
पुरानो करारमा इस्राएलको इतिहास तिर फर्केर हेर्दा इस्राएलका कुल पिता अब्राहाम पनि एक अगमवक्ता भएको कुरा उत्पत्ति २०ः७ मा पाउन सक्छौ। त्यसै गरि इस्राएलीहरूलाई मिश्रको दासत्व बाट परमेश्वरले छुटकारा दिएर ल्याउनु हुँदा उजाड स्थानमा उनीहरूलाई नेतृत्व दिने मोशा‚ जस सँग परमप्रभु आमुन्नेसामुन्ने कुराकानी गर्नुहुन्थ्यो‚ उनी एक महान अगमवक्ता थिए भनी व्यवस्था ३४ः१० मा लेखिएको पाउँछौँ। व्यवस्था पछाडिका इतिहासको पुस्तकहरू पनि शमुएल‚ एलिया‚ एलिशा लगायतका अगमवक्ताहरूको कथाले भरिएका छन् भने यशैया देखी मलाकी सम्मका पुस्तकहरू त अगमवक्ताहरू स्वयम्ले लेखेका छन्।
परमेश्वरले खडा गर्नुभएको यी अगमवक्ताहरूले कसैको डर भय नमानी विषम परिस्थितिको सामना गर्नुपर्दा पनि आफ्नो ज्यानको पर्वाह नगरी परमेश्वरको वचन उहाँले अह्राउनु भए जस्तै जस्ताको त्यस्तै‚ त्यसमा केही थप घट नगरी मानिसहरू सामु बोले। उनीहरूले कहिल्यै पनि आफ्नो इच्छा बाटको कुरा या त आफ्नो मनगढन्ते कुराहरू यो परमेश्वरको वाणी हो भनी बोलेनन्। जब परमेश्वरले एक अगमवक्तालाई बोल्नको निम्ति आफ्नो वाणी दिनुहुन्थ्यो र त्यस अगमवक्ताले बोल्दथेँ‚ परमेश्वरको त्यस वाणी बोल्दा अगमवक्ताले "परमप्रभु भन्नुहुन्छ" भनी घोषणा गर्थे। यसरी इस्राएलको इतिहास भरी; निर्वासन पूर्व, निर्वासनको समयमा र निर्वासन पश्चात पनि येशू ख्रीष्ट जन्मनु भन्दा लगभग ४०० वर्ष अगाडि सम्म पुरानो करारमा गमवक्ताहरूले सेवा पुर्याए।
यसरी अगमवक्ताको रुपमा सेवा पुर्याउनेहरू पुरुषहरू मात्र नभएर हारुनकी दिदी मिरियम, इस्राएलकी न्यायकर्ता दबोरा र यहूदाको राजा योशियाहको समयकी अगमवादिनी हुल्दा लगायतका स्त्रीहरूलाई पनि परमेश्वरले अगमवाक्ताको रुपमा खडा गर्नुभएको कुरा क्रमशः प्रस्थान १५:२०, न्यायकर्ता ४:४ र २ राजा २२:१४ मा उल्लेख भएको पाउछौँ।
पुरानो करारको मलाकी अगमवक्ताको मृत्यु पश्चात येशू ख्रीष्टको जन्मको समय सम्म परमेश्वर कुनै अगमवक्ता सँग बोल्नुभएको रेकर्ड कहिँ कतै पाइदैन। येशू ख्रीष्टको सेवकाईको ठिक पूर्व अगमवाणी गर्दै र बप्तिस्मा दिदै बप्तिस्मा दिने यूहन्ना एक अगमवक्ताको रुपमा आए जसलाई येशू ख्रीष्टले पुरानो करारको अन्तिम अगमवक्ता भनी मत्ती ११:१३-१४ मा भन्नुभएको छ।
त्यसै गरी नयाँ करारको विभिन्न खण्डहरमा पनि अगमवाक्ताहरूको बारेमा उल्लेख गरिएको छ। सुरुको मण्डलीका अगमवाक्ताहरू मध्य अगाबसको नाम हामी बाइबलमा प्रेरित ११:२७-२८ मा पाउँछौँ, जसले पवित्र आत्मा द्वारा आउन लागेको ठुलो अनिकालको बारेमा एन्टीओखीयाको मण्डलीमा चेतावनीको भविष्यवाणी बोले। उनै अगमवक्ता अगाबसले प्रेरित २१:१०-११ मा प्रेरित पावलको पक्राउ तथा कैदको विषयमा पनि अगमवाणी गरे। यहूदा र सिलास पनि सुरुका मण्डलीका अगमवक्ताहरू थिए जसलाई यरूशलेमको मण्डलीले एन्टीओखीयाको मण्डलीमा भएको समस्या समाधान गर्न पावल र बर्नबास सँगै एन्टीओखियामा पठाए (प्रेतित १५:२२) र उनीहरूले त्यहाँ वचन द्वारा मण्डलीलाई सुदृढ गराएको कुरा प्रेरित १५:३२ मा उल्लेख गरिएको छ। त्यसै गरी प्रचारक फिलिपका ४ जना छोरीहरूले पनि अगमवाणी बल्दथे भनि प्रेरित २१:९ मा लेखिएको छ।
यस बाहेक प्रेरित पावलले आफ्नो पत्रहरूमा अगमवाणीको बरदानको बारेमा उल्लेख गरेका छन् (१ कोरिन्थी १२, एफिसी ४:११, १ तिमोथी ४:१४); विशेषत: पवित्र आत्माको बरदानहरु मध्य एउटा बरदान अगमवाणी गर्ने बरदान हो भनी पावल १ कोरिन्थी १२:१० मा भन्छन्। त्यसरी नै येशू ख्रीष्ट स्वयम् ले पनि मत्ती ७:१५-२०; २४:११, मर्कूस १३:२२, लूका २१:८ लगायतका सुसमाचारका खण्डहरूमा झुटा अगमवक्ताहरू बारे चेतावनी दिनुभएको छ।
अगमवाणीको प्रकारहरू || Agambani Kati Kisimka Hunchhan?
अगमवाणी भन्ने बित्तिकै प्राय जसो हाम्रो दिमागमा भविष्यमा हुन आउने घटना बारे पहिलानै बताइएको अर्थात बताउने कुरा हो भन्ने बुझ्छौँ। तर अगमवाणी बोल्ने भनेको भविष्यको कुरा बताउने मात्र नभई त्यो भन्दा अझ बढी कुरो हो। बाइबलमा परमेश्वरको अगमवाणीका वचनहरू विभिन्न रुपमा आएको कुरा हामी देख्छौँ। अगमवाणीको वचनले भविष्यमा हुन आउने कुरा मात्र बोलेको छैन, यसले परमेश्वर कस्तो हुनुहुन्छ भनी उहाँको स्वभाव र चरित्र मानिसहरू सामु प्रकट गरेको छ, परमेश्वरको इच्छा र उहाँको आज्ञाहरूको घोषणा गरेको छ, पाप र त्यसको परिणाम विरुद्ध मानिसहरूलाई चेतावनी दिएको छ, त्यसै गरी उहाँमा भरोसा गर्ने जनहरूको लागि आशा र उत्साहको वचनलाई पनि समेटेको छ।
अगमवाणीको यी सबै पक्षहरूलाई समेट्दै यसलाई दुई भागमा विभाजन गरेर हेर्ने चलन पछिल्लो समय निक्कैनै लोकप्रिय बन्दै आइरहेको छ। जसलाई पूर्व कथन (foretelling) र प्रचार कथन (forthtelling) भनिन्छ। भविष्यको अवस्था वा भविष्यमा हुन आउने घटनाहरू बारे बोलिएको अगमवाणीका वचनहरू पूर्व कथन (foretelling) मा पर्दछन् भने, प्रचार कथन (forthtelling) मा उहाँको आज्ञा, सुधारको वाणी, चेतावनी, उत्साह, सान्त्वना, आशा आदि घोषणा गरेर बोलिएको अगमवाणीको वचन हरू पर्दछन्, जसमा भविष्यको कुरा भन्दापनि वर्तमान अवस्थामा आवश्यक कुराहरू परमेश्वरले आफ्नो अगमवक्ता द्वारा बोल्नुभएको छ। पुरानो करारमा हेर्यौ भने प्रचार कथनमा प्राय इस्राएलको सन्तानलाई उनीहरूले विगतमा गरेको वा गर्दै आइरहेको पाप र अब त्यसलाई त्यागेर परमप्रभु आफ्ना परमेश्वर तिर फर्किन उत्साह दिएको कुरा पाउँछौँ। उदाहरणको लागि हामी २ राजा १७:१३ र यशैया ५५-५९ अध्यायहरूलाई लिन सक्छौँ।
अगमवाणीको उदेश्य || Agambaniko Udeshya
चाहे त्यो पूर्व कथन (foretelling) होस् या प्रचार कथन (forthtelling), अगमवाणीको एउटै उद्देश्य भनेको उहाँको मानिसहरूलाई उहाँको मार्गमा फर्काउनु हो। जसरी प्रचार कथनमा पापको विरुद्धको चेतावनी र परमेश्वरको पवित्रता तर्फ फर्कनको लागि उत्साह, कुनै आज्ञा वा परमेश्वरको मानिसहरूले प्रतिकुल परिस्थितिको सामना गरिरहँदा उनीहरूको लागि सान्त्वना र आशा लगायतका अतिनै व्यवहारिक कुराहरू समेटिएका छन्, त्यसरी नै पूर्व कथनमा समेटिएका भविष्यका अवस्था बारेको कुराहरू पनि यो केवल हाम्रो भविष्य प्रतिको प्रश्नहरूलाई सन्तुष्ट पार्ने उत्तर मात्र नभएर तत्कालीन र वर्तमान स्रोतहरूलाई पनि पवित्रतामा फर्काउनु र विश्वासको जीवनमा अटल भई अगाडि बढिरहनको लागि हो। उदाहरणको लागिः येशू एक दिन हामीलाई लिन फेरी आउनुहुनेछ भन्ने कुरा थाहा गरेर हामी पवित्रतामा जिउँछौँ, उहाँको सुसमाचार मानिसहरू सँग बाँड्छौ, एक साथ मिलेर संगति गर्ने, एकले अर्कोलाई उत्साह दिने, साहयता गर्ने लगायतका कुराहरू गर्ने गर्छौ। त्यसैले अगमवाणी चाँहि जोखाना हेर्ने वा भाग्य हेर्ने अभ्यासहरू भन्दा बिल्कुल फरक कुरो हो।
के आज पनि मण्डलीमा अगमवक्ताहरू छन् ? Ajako Mandalima Agambakta ra Agambani Hunchha?
यसरी हामी पुरानो करार देखि लिएर नयाँ करारमा पनि प्रेरितहरूका समय सम्म अगमवक्ता हरूले सेवा गरेको कुरा बाइबलमा पाउँछौँ। तर अब यहाँ प्रश्न आउँछ कि प्रेरितहरूका समय पश्चात अगमवाणीको सेवकाई के भयो? के आज पनि मण्डलीमा अगमवाणीको सेवकाई गर्ने अगमवक्ता हरू छन्? कि प्रेरितहरूका समय वा क्यानाेन (Canon) को समय पश्चात अगमवाणीको सेवकाई पनि बन्द भयो त?
यस विषयमा बाइबलको कुनै पनि पद वा खण्डले सबै विश्वासीहरूलाई चित्त बुझ्ने गरी ठ्याक्कै किटान गरेर केही भनेको छैन। त्यसैले प्रभु येशू ख्रीष्ट माथि विश्वास राख्ने साँचो विश्वासीहरू बाइबलका विभिन्न पदहरूलाई सान्दर्भिक व्याख्या गर्ने क्रममा यस विषयमा दुई फरक बिचारमा बाँडिएका छन्। नयाँ करारको पूर्णता सँगै अगमवाणी पनि बन्द भयो भनी विचार राख्ने एउटा ख्रीष्टियन समूह छ भने अगमवाणी पवित्र आत्माको एक बरदानको रुपमा आजको मण्डलीमा पनि निरन्तर जारी छ भनी विचार राख्ने अर्को समुहका ख्रीष्टियनहरू पनि छन्। यी दुवै विचार राख्ने विश्वासीहरू साँचो विश्वासीहरू हुन्; यो दुवै विचारहरूमा जुन विचार अपनाए पनि त्यो झुटो शिक्षा भने पटक्कै होइन।
प्रेरितहरूका समय पश्चात होस वा नयाँ करारको पूर्णता यानकी क्यानोनको समय पछि अगमवाणी पनि पूर्ण रूपले बन्द भयो भनी विचार राख्नेहरू होस, यी दुवै आजको मण्डलीमा अगम्वाक्ताहरू र अगमवाणी हुँदैन भन्ने यो पहिलो विचार समुह अन्तरगत पर्दछन्। अगमवाणीको वरदान चाँहि निश्चित समय कालको लागि मात्र निश्चित उद्देश्यको लागि दिइएको हो र आज त्यसको आवश्यकता छैन र त्यो बन्द भैसकेको छ, आज मण्डलीमा सेवा गर्न त पास्टर, प्रचारक र शिक्षकहरू परमेश्वरले दिनुभएको छ भन्ने बिचार उनीहरु राख्छन्। उनीहरु १ कोरिन्थी १३:८-१०, एफिसी २:२० लगायतका बाइबल पद तर्फ औल्याउदछन। उनीहरु भन्दछन की १ कोरिन्थी १३:८-१० मा स्पष्ट संग लेखिएको छ कि जब सिद्धता अर्थात पूर्णता आउने छ अगमवाणी पनि टलेर जानेछ; अनि यो सिद्धता भनेको चाँहि नयाँ करारको पूर्णता हो। अब हामीलाई डोर्याउन लागि पूर्ण बाइबल हामीले पाइसकेका छौ, ख्रीष्टियन जीवन मार्ग दर्शनको लागि बाइबलको वचनहरू पर्याप्त छन्, अब हामीलाई कुनै अरु थप अगमवाणीको आवश्यक छैन। त्यसै गरी एफिसी २:२० मा पनि स्पष्ट लेखिएको छ कि येशूले आफ्नो मण्डली चाँहि प्रेरित र अगमवक्ताहरूको जगमा बसाल्नु भयो जसको मुख्य कुने ढुङ्गो येशू ख्रीष्ट आफै हुनुहुन्छ। त्यसैले अगमवक्ताको वरदान चाहिँ सुरुको मण्डली स्थापनाको लागि थियो, अब मण्डलीको जग चाँहि बसाली सकिएको छ, त्यसैले अब अगमवाणीको त्यो बरदान आज आवश्यक छैन किनकि फेरी मण्डलीको जग बसाल्ने कुरो त आँउदैन भनी यो पहिलो बिचार मा सहमत हुने ख्रीष्टियनहरू भन्छन्।
तर दोस्रो विचार समुहका ख्रीष्टियनहरू भन्छन् की अगमवाणी पवित्र आत्माको वरदान हो र यो आजको मण्डलीमा पनि सक्रिय छ। यस विचार समुहका ख्रीष्टियनहरू मध्य कतिले आजभोलि बोलिने अगमवाणीको वचन चाँहि स्थानीय मण्डलीको विशेष आवश्यकतालाई केन्द्रमा राखी मण्डलीलाई सहायता गर्ने र बलियो पार्ने उद्देश्यले बोलिन्छ र यो नितान्त स्थानीय मण्डली विशेषको लागि मात्र लागू हुन्छ भनी भन्छन् भने कतिले चाँहि आज भोलि बोलिने अगमवाणीको वचन कतिपय समयमा विश्वव्यापी मण्डलीलाई मार्गनिर्देशनको लागि पनि बोलिन्छ भनी भन्छन्।
अगमवाणी आजको मण्डलीमा पनि सक्रिय छ भनी विचार राख्ने यस दोस्रो समुहका ख्रीष्टियनहरू १ कोरिन्थी १२:१०, एफिसी ४:११ लगायतका बाइबल पदहरू तर्फ औल्याउछन। उनीहरु भन्छन् की अगमवाणी चाँहि मण्डलीमा दिइएको पवित्र आत्माको एक वरदान हो र आज पनि यो सेवा उत्तिकै महत्वपूर्ण छ। १ कोरिन्थी १३:१० मा उल्लेखित सिद्धताको मतलब चाँहि हाम्रो शरीरको पुनरुत्थान हो, त्यसैले पुनरुत्थानको समय पछि मात्र अगमवाणीहरू टलेर जानेछ भनी यस पदले भनेको हो भनी उनीहरु भन्छन्।
आजको मण्डलीमा अगमवाणीको सेवाको निरन्तरता बारे फरक विचारहरूलाई निम्न तवरले प्रस्तुत गर्दा बुझ्न अझ सजिलो हुनेछः
पहिलो मुख्य विचारः आजको मण्डलीमा अगम्वाक्ताहरू र अगमवाणी हुँदैन;
पहिलो विचार भित्रको पहिलो विचारः यो प्रेरितहरूका समय पश्चात बन्द भयो
पहिलो विचार भित्रको दोस्रो विचारः यो नयाँ करारको पूर्णता यानकी क्यानोनको समय पछि बन्द भयो
दोस्रो मुख्य विचारः अगमवाणी पवित्र आत्माको वरदान हो र यो आजको मण्डलीमा पनि सक्रिय छ;
दोस्रो विचार भित्रको पहिलो विचारः आजभोलि बोलिने अगमवाणीको वचन चाँहि स्थानीय मण्डलीको विशेषको लागि मात्र हुन्छ
दोस्रो विचार भित्रको दोस्रो विचारः यो कतिपय समयमा विश्वव्यापी मण्डलीको लागि पनि हुन्छ
ख्रीष्टियनहरू माझ किन फरक विचारहरू? Christian Harumajh Kina Farak Bichar Chha?
हामीलाई लाग्छ की एउटै येशूमा विश्वास राख्नेहरू बिच एउटै विचार हुनुपर्ने होइन र? किन फरक-फरक विचारहरू? यो किन भयो त? माथि उल्लेख गरेझैँ यस विषयमा बाइबलले ठ्याक्कै किटान गरेर केही नभनेको कारण माथि उल्लेखित लगायत बाइबलका अन्य खण्डहरू पढ्दै जाँदा ख्रीष्टियनहरूले ती खण्डलाई फरक सन्दर्भमा बुझ्छन् र ती पदहरूको व्याख्या गर्ने क्रममा फरक निष्कर्षमा पुगेको कारण यी फरक विचारहरू मण्डलीमा छन् । यी फरक विचार चाँहि झुटो शिक्षा होइनन्। किनकि यो फरक विचार हाम्रो प्रभु येशू ख्रीष्ट मुक्ति दाता अनि हाम्रो उद्धार र मुक्ति सम्बन्धी मूल सिद्धान्त बारे/विपरित होइनन्। त्यसैले यी फरक विचारहरूले मण्डलीलाई विभाजन गराउँदैन, बरु एक स्वस्थ ईश्वरशास्त्रीय बहसको वातावरण सृजना गराई विश्वासीहरूलाई सावधानी पूर्वक धर्मशास्त्रको गहिरो अध्ययन गर्न तर्फ प्रेरित गर्दछ।
ख्रीष्टियन सम्प्रदायहरूका कुरा गर्ने हो भने ब्यप्टिस्ट, प्रेसबिटेरियन लगायतका ख्रीष्टियन सम्प्रदायहरू आजको मण्डलीमा अगमवाणीको निरन्तरतालाई स्वीकार नगर्ने विचार अवलम्बन गर्दछन् भने पेन्टिकोष्टल, क्येरिसम्याटिक लगायतका ख्रीष्टियन सम्प्रदायहरू आजको मण्डलीमा अगमवाणीको निरन्तरतालाई स्वीकार गर्ने विचार अवलम्बन गर्छन्।आजको मण्डलीमा अगमवाणीको निरन्तरतालाई स्वीकार गर्ने विचार अवलम्बन गर्ने र स्वीकार नगर्ने विचार अवलम्बन गर्ने दुवै समुहका ख्रीष्टियनहरूले यो कुरामा बडो जोड दिन्छन् की झुटा अगमवाक्ताहरु देखि मण्डली होसियार रहनु पर्दछ।
अन्त्यमा
अतः हामी माथिको मध्ये जुनसुकै विचार सँग सहमत भए पनि त्यो प्रार्थना सँगै हाम्रो गहन बाइबल अध्ययन र ईश्वरशास्त्रीय खोजको उपज हुन पर्दछ। त्यति मात्र नभएर हामीले फरक विचार सँग सहमत हुने भाइलाई सम्मान र प्रेम गर्दै प्रभुको सेवामा एक साथ अगाडि बढ्नु पर्दछ भन्ने भाव प्रेरित पवालले फिलिप्पी ३:१५-१६ मा दर्शाएका छन्। यी सबै कुरा गरिरहँदा हामी हाम्रो स्थानीय मण्डलीको पास्टर/अगुवा तथा मण्डली प्रशासनको अधीनतामा चल्नु पर्ने कुरोलाई भने कहिल्यै बिर्सिनु हुँदैन। त्यसै गरी मण्डलीका पास्टर/अगुवा तथा शिक्षक, प्रचारकहरूले धर्मशास्त्रीय सत्यता र ईश्वरशास्त्रीय शिक्षामा मण्डलीलाई हुर्काउन प्रभुले दिनुभएको अतिनै महत्वपूर्ण यस जिम्मेवारीको अवहेलना गर्नु हुँदैन, किनकि हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टले उहाँको बगालको रखवाली गर्ने महान जिम्मेवारी सुम्पनु भएको छ कि हाम्रा महान गोठालो महिमामा प्रकट हुनुहुँदा हामी विश्वासयोग्य भेट्टाइनँ सकौं।
[अगमवाणी र अगमवक्ताहरु विषयक आजको यस लेख तपाईलाई कस्तो लाग्यो? तलको कमेन्ट बक्समा तपाईको अमुल्य सल्लाह, सुझाव र प्रतिक्रिया राखी दिनुहुन अनुरोध गर्दछु। आजको यस लेख तपईलाई उपयोगी लागेको खण्डमा यसलाई share गर्न सक्नुहुनेछ साथै हाम्रो युटुब च्यानललाई subscribe गर्न र फेसबुक पेजलाई फलो गर्न सक्नुहुनेछ। धन्यवाद! परमेश्वरले तपाईंलाई धेरै आशिष दिनुभएको होस्।]
Post a Comment