झुटा अगमवक्ता र शिक्षक चिन्ने ५ बाइबलिय तरिकाहरू || Jhuto Agambakta ra Jhuto Shikshak || False Prophets and False Teachers in Nepal

 

Juto agambakta

“सुन भन्दा कम छैन, हराएमा डर छैन।” नक्कली सुनको गरगहनाको प्रचारको लागि यो वाक्यांश नेपाली बजारमा निकै नै प्रख्यात छ। त्यस्ता गहनाहरू हेर्दा ठ्याक्कै सुनको जस्तो देखिन्छन् तर नियालेर जाँच गर्दा ती सुनका हुँदैनन्। झुटा शिक्षक, प्रचारक, तथा वक्ताहरू पनि हेर्दा ठ्याक्कै साँचो जस्ता देखिन्छन् तर तिनीहरूलाई कसरी चिन्ने त?

आजको लेखमा हामी झुटा अगमवक्ता तथा झुटा शिक्षकहरू चिन्ने पवित्र बाइबल आधारित ५ तरिकाहरू हेर्नेछौँ। यस लेख पढ्दै गर्दा आफ्नो बाइबल पनि साथमा राखेर उल्लेखित सन्दर्भ पदहरूलाई बाइबल बाट पढ्नु आवश्यक छ, जसले विषयवस्तु प्रतिको बुझाइलाई मूर्त रूप दिन साहयता गर्नेछ।

१. उसले बोलेको कुरा कहिल्यै पुरा भयो कि भएन

सन्दर्भको लागि बाइबल खण्डहरूः व्यवस्था १८ः२२; योना ३ः१०


झुटा शिक्षक कि झुटा अगमवक्ता कसरी चिन्ने भनी बाइबलमा फर्केर हेर्‍यौँ भने मोशाले व्यवस्था १८ः २२ मा लेखेका छन्, “यदि कुनै अगमवक्ताले केही बताउँछ ऊ परमेश्वरको निम्ति बोल्दैछ तर त्यो जब पूरा हुँदैन तब तिमीहरूले जान्नेछौ त्यो कुरो परमप्रभुले भन्नु भएको होइन।” यसको मतलब अगमवक्ताले अगमवाणी/भविष्यवाणी गरेको कुरा कहिल्यै पुरा भएन भने त्यो अगमवक्ता झुटो अगमवक्ता हो भनी परमेश्वरले मोशा द्वारा इस्राएलीहरूलाई बताउनुभयो।


त्यसोभए त्यहाँ एउटा प्रश्न आउन सक्छ, योना अगमवक्ता झुटो अगमवक्ता थिए त? किनकि, योना ३ः४ मा लेखिएको छ, “...योनाले भने, “चालिस दिन पछि निनवे शहर नाश हुनेछ।” तर हामीलाई थाहा छ कि योनाले अगमवाणी गरे अनुरूप निनवे सहरको विनाश भएन । त्यसोभए योना अगमवक्ता झुटो अगमवक्ता हुन त?


त्यसो होइन। बाइबलको सबै अगमवाणी भविष्यमा हुनआउने घटना बारे मात्र होईनन्, तर पश्चताप गरेर नफर्किएमा भोग्नुपर्ने परिणामको बारे चेतावनीको लागि पनि हो ।  हो, योनाले निनवेमा गरेको प्रचार पनि यस्तै चेतावनी मध्यको एक थियो । पुरानो करारमा इस्राएलले भोग्नुपरेको दण्डको इतिहासलाई हेर्छौ भनेपनि परमेश्वरले आफ्नो अगमवक्ताद्वारा उनीहरूलाई दिनुभएको चेतावनिको वचनलाई बेवास्ता गरी पश्चताप नगरेको पाउछौँ।


त्यसैले, झुटो अगमवक्ता जाँच्ने यो पहिलो तरिका योनाको पुस्तकसँग विरोधाभास छैन कि अगमवक्ताले अगमवाणी/भविष्यवाणी गरेको कुरा कहिल्यै पुरा भएन भने त्यो अगमवक्ता झुटो अगमवक्ता हो।

२. परमेश्वरको वचन, बाइबल सँग मेल खान्छ कि खाँदैन 

सन्दर्भको लागि बाइबल खण्डहरूः  व्यवस्था १३ः१-३; २ कोरिन्थी ११ः३-४; गलाती १ः८-९


त्यसोभए उसले बोलेको कुरा पुरा हुँदैमा सबै अगमवक्ताहरू साँचो अगमवक्ता हुन भनी ढुक्कै भन्न सकिने अवस्था हो त? अर्थात के झुटा शिक्षक कि झुटा अगमवक्ताले बोलेको कुरा चाँहि कहिल्यै पुरा नहुने नै हो त? त्यसो पनि होइन् । कहिलेकाँही झुटा अगमवक्ताले गरेको अगमवाणी पनि पुरा हुने गर्छ।


त्यसैले परमेश्वरले इस्राएलीहरूलाई मोशा द्वारा झुटा अगमवक्ता जाँच्ने अर्को तरिका पनि दिनुभयो । उसले गरेको अगमवाणी पुरा भयो, उसले चिन्ह वा चमत्कारको काम पनि गर्यो, तर त्यस पश्चात परमेश्वरको वचन विरुद्ध गएर अब हामी अरू देवी देवताहरूको पुजा गरौँ वा तिनीहरूको पछि लागौँ भन्छ भने त्यो झुटो अगमवक्ता/शिक्षक हो (व्यवस्था १३ः१-३)।


त्यसैले कुनै अगमवक्ताले गरेको अगमवाणी पुरा हुँदैमा इस्राएलीहरूले त्यो अगमवक्ता साँचो अगमवक्ता हो भनी अन्धाधुन्ध विश्वास गर्नुको सट्टा उसले गरेको अगमवाणी परमेश्वरको वचन सँग मेल खान्छ कि खादैन भनी जाँच्नु पर्थ्यो । किनकि यस अघिनै दश आज्ञामा इस्राएलीहरूलाई परमेश्वरले स्पष्ट भन्नुभएको थियो कि, “तिमीहरूले मबाहेक अरू कुनै देवता पुज्नु हुँदैन” (प्रस्थान २०ः२-५)।


त्यसैले कुनै शिक्षक (अगमवक्ता) साँचो हो कि झुटो हो भनी जाँच गर्दा यो दोस्रो कुरा कहिल्यै भुल्नु हुँदैन;  कि, उसले बोलेको कुरा परमेश्वरको वचन (बाइबल) स‌ङ्ग मेल खान्छ कि खादैन । यो कुरालाई बाइबलको नयाँ करारमा पनि प्रेरित पावलले निक्कै नै जोड दिएका छन् (२ कोरिन्थी ११ः३-४; गलाती १ः८-९)। 


त्यसैले, कुनै शिक्षा वा प्रचार, यो परमेश्वरको वचन बाइबल सम्मत छ कि छैन भनी जाँच गर्न अतिनै महत्वपूर्ण हुन्छ, जसरी बेरियामा येशूको सुसमाचार सुन्नेहरूले गरेका थिए (प्रेरित १७ः११)।


३. नैतिक जीवनको जाँच  

सन्दर्भको लागि बाइबल खण्डहरूः  यर्मिया २३ः११-१४; इजकिएल १३ः५, १०, २२; मत्ती ७ः१५-१६; गलाती ५ः१९-२३; मत्ती ७ः२१-२३; १ कोरिन्थी १३ः२


झुटा शिक्षक (वा झुटा अगमवक्ता) जाँच गर्ने तेस्रो तरिका भनेको त्यस व्यक्तिको नैतिक जीवनको जाँच हो। परमेश्वर पवित्र हुनुहुन्छ, र पवित्र परमेश्वरको शिक्षक (अगमवक्ता) आफू पनि पवित्र जीवन जिउनु पर्छ र अरूलाई पनि उहाँको पवित्रतामा डोर्‍याउनु पर्छ। यसको मतलव साँचो शिक्षक (वा अगमवक्ता) चाँहि सिद्ध हुन्छ भन्न खोजेको होइन्। सिद्ध त येशू मात्र हुनुहुन्छ। तर एक साँचो शिक्षक (वा अगमवक्ता) प्रतिदिन येशूको स्वरूपमा बढ्दै गएको हुन्छ र अरूलाई पनि उसले प्रतिदिन येशूको स्वरूपमा बढ्दै जान सहायता पुर्‍याइरहेको हुन्छ। 


नैतिक भ्रष्‍टताको जीवन जिउने झुटा अगमवक्ताहरू बारे यर्मिया २३ः १४-१८ मा परमेश्वर भन्नुहुन्छः “यरूशलेमका अगमवक्ताहरूमा चाहिँ मैले केही अति घिनलाग्दो कुरा देखेको छु। …यसैले कोही पनि आफ्नो दुष्टतादेखि फर्कंदैन। …सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: (ती) अगमवक्ताहरूका कुरा तिमीहरू नसुन, तिनीहरू झूटा आशाले तिमीहरूलाई भरिपूर्ण पार्छन्। तिनीहरू परमप्रभुको मुखबाट होइन, तर आफ्नै मनबाट दर्शनहरू बताउँछन्।”


त्यसैगरी गर्नुपर्ने ठिक काम नगर्ने तर जालझेल गर्ने, नराम्रो काम गरेर त्यसलाई ढाकछोप गरी राम्रो देखाउने, झुट कुराको प्रचार गर्ने अनि खराबी गर्नेहरूलाई परमेश्वरको मार्गमा फर्काउनको सट्टा खराबी गरिरहन प्रोत्साहन गर्ने झुटा अगमवक्ताहरू बारे इजकिएल १३:५, १०, २२ मा परमेश्वरले उनीहरूको पाप प्रकट गर्दै तिनीहरू दोषी छन् भन्ने स्पष्ट पार्नुहुन्छ। त्यसैगरी येशू ख्रीष्ट आफैले पनि मत्ती ७ः१५-१६ मा “झूटा अगमवक्ताहरूदेखि होशियार बस…” भनी भन्नुभएको छ। 


झूटा शिक्षक तथा झुटा अगमवक्ताहरू बाहिर बाट साँचो जस्ता देखिन्छन्, तर उनीहरूको जीवनको फल अर्थात कामहरूबाट उनीहरूलाई हामीले चिन्नुपर्छ (मत्ती ७ः१५-१६)। उनीहरूको जीवनमा कस्तो फलहरू देख्छौँ भनी हामी गलाती ५ः१९-२१ बाट पनि हामी थाहा गर्न सक्छौं। 


चमत्कारी र शक्तिशाली काम गर्दैमा त्यो व्यक्ति साँचो अगमवक्ता हो भनी हामीले विश्वास गरी उसको शिक्षा ग्रहण गर्न हतारो गर्नु हुँदैन, बरु हामीले उसको नैतिक जीवनको जाँच गर्नुपर्छ के कतै तिनीहरू अधर्म काम गर्नेहरू त होइनन्? हामीले उसको जीवनमा पवित्र आत्माको फल छ कि छैन भनी हेर्नु पर्दछ (गलाती ५ः२२-२३)। अनि, १ कोरिन्थी १३ः२ मा पानि लेखिएको छ; “मसँग अगमवाणी बोल्ने शक्ति होला, …तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।”


यसरी अपश्चतापि, नैतिक रुपमा पतित; विशेष गरी यस्ता व्यक्तिहरू सार्वजनिक रुपमा प्रष्ट पापहरूमा लागिरहन्छन, त्यस्ता शिक्षक तथा अगमवक्ताहरू चाहिँ  झुटा अगमवक्ताहरू र  झुटा शिक्षकहरू  हुन भनी बाइबले स्पष्ट रूपमा भनेको हामी पाउदछौं। अनन्त जीवनमा तिनीहरूको कुनै हिस्सा रहने छैन भनी येशू भन्नुहुन्छ (मत्ती ७ः२२-२३)।

४. आत्माहरू छुट्याउने वरदान 

सन्दर्भको लागि बाइबल खण्डहरूः  १ कोरिन्थी १२ः१०-११; १४ः२९ 


अगमवक्ता, अगमवाणी अनि आजको मण्डली बारे कुरा गर्नुपर्दा, मण्डलीमा अगमवाणी तथा अगमवक्ताको सेवकाईको निरन्तरता बारे प्रभु येशूमा विश्वास राख्ने साँचो विश्वासीहरूले दुई फरक विचार राख्दछन्ः १) यसको निरन्तरता २) र यसको अन्त्य। [यस बारे थप बुझ्न, यस अनुच्छेदको सुरुको निलो वाक्यांशमा थिच्नुहोस्]। 


अब, कसैले अगमवाणीको निरन्तरतालाई पवित्र आत्माको वरदानको रूपमा हेर्दा, आत्माहरू छुट्याउने वरदान पनि उही पवित्र आत्माको वरदान हो भनी बिर्सनु हुँदैन। जुन कुरा १ कोरिन्थी १२ः१०-११ मा स्पष्ट सँग यसरी लेखिएको छ; “...कसैलाई आत्माहरू छुट्ट्याउन सक्ने, …उहाँले हरेकलाई उहाँको इच्छाअनुसार वरदान दिनुहुन्छ।”  


[कति ख्रीष्टियनहरूले आत्माहरू छुट्याउने वरदान सुरुको मण्डलीलाई मात्र दिइएको थियो, आजको मण्डलीलाई साचो वा झुटो छुट्याउनको लागि त पूर्ण बाइबल दिइएको छ भनी भन्दछन्। जे होस् सबै ख्रीष्टियनहरू यो कुरामा चाँहि एउटै विचार राख्छन् कि सबै आधिकारिकताको जाँच परमेश्वरको वचन, बाइबलबाट हुनुपर्दछ।]


यो आत्माहरू छुट्याउने वरदान भएकाहरूले अगमवाणी बोल्ने व्यक्ति कुन आत्मा बाट बोलिरहेको छ भनी छुट्याउन सक्नेछन् र यसरी उनीहरूले मण्डलीलाई झुटा अगमवक्ता र झुटा शिक्षकहरू बाट बचाउनुपर्ने हुन्छ। १ कोरिन्थी १४ः२९ ले पनि भन्छ कि, “अगमवाणी बोल्नेचाहिँ दुई अथवा तीन जना होऊन्, र अरूले तिनीहरूले बोलेको कुरा राम्ररी जाँच गरून्।”


त्यसैले, जुनसुकै अगमवाणीलाई पवित्र अ‍ात्माको वाणीको रूपमा विश्वास गरिहाल्नुको सट्टा त्यसको आधिकारिकताको जाँच गरिनु पर्छ। त्यहाँ अगमवाणीको बरदान छ भने, त्यहाँ आत्माहरू छुट्याउने वरदान पनि छ भन्ने कदापि बिर्सनु हुँदैन। यदि त्यहाँ पवित्र आत्माको वरदानद्वारा अगमवाणी बोल्ने व्यक्ति छ भने, त्यहाँ त्यसको जाँच गर्ने पवित्र आत्माको आत्माहरू छुट्याउने वरदान पाएको व्यक्ति पनि होस्। यसरी, परमेश्वरको सेवा चाँहि सुव्यवस्थित तवरमा हुनुपर्दछ (१ कोरिन्थी १४ः२६-३३)। तर सबै आधिकारिकताको जाँचको मापदण्ड बाइबल नै हो भन्ने कहिल्यै भुल्नु हुँदैन।

५. येशू ख्रीष्टको व्यक्तित्व माथि प्रहार भएको छ कि छैन

सन्दर्भको लागि बाइबल खण्डः १ यूहन्ना ४ः१-३ 


अब हामी झुटा शिक्षक तथा  झुटा अगमवक्ता चिन्ने पाचौँ तरिका तर्फ लागौँ। एक साँचो ख्रीष्टियनले येशू ख्रीष्ट र उहाँको व्यक्तित्व माथि पूर्ण विश्वास राख्दछ। त्यसैले, कुनै शिक्षक, प्रचारक, वा अगमवक्ता हुँ भन्ने व्यक्तिले बोल्दा, प्रचार गर्दा वा शिक्षा दिदा येशू ख्रीष्टको व्यक्तित्व माथि प्रहार गर्छ भने, निश्चयनै त्यो झुटो हो। १ यूहन्ना ४:१-३ मा यसरी लेखिएको छः “प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, …यसैबाट तिमीहरू परमेश्वरका आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ, सो परमेश्वरबाट हो। येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाट होइन, तर त्यो ख्रीष्ट विरोधीको आत्मा हो, …।” 


येशू ख्रीष्ट पुर्ण मानिस अनि पुर्ण परमेश्वर हुनुहुन्छ। उहाँको व्यक्तित्व विरुद्धको विश्वासले मुक्ति सम्भव छैन। यदि, येशू पूर्ण रूपमा मानिस हुनुहुन्न भने उहाँको क्रूसको बलिदानले हाम्रो पाप क्षमा हुनै सक्दैन, किनकि मानिसको पापको अनन्त प्रायश्चितको लागि सिद्ध मानिसको बलिदान आवश्यक छ (मानिसको पापको लागि मानिसको मृत्यु)।  त्यसैगरी, येशू  पुर्ण रूपमा परमेश्वर हुनुहुन्न भने उहाँमा विश्वास राखेर हाम्रो पाप क्षमा हुन सक्दैन, किनकि परमेश्वरले मात्र हामीलाई क्षमा दिन सक्नुहुन्छ। त्यसैले येशू ख्रीष्टको व्यक्तित्व माथि प्रहार गर्ने जो कोही पनि झुटो हो भनी हामीलाई थाहा हुनुपर्दछ।

अन्त्यमा

आज हामीले झुटा अगमवक्ता तथा झुटा शिक्षकहरू चिन्ने  ५ बाइबलीय तरिकाहरू हेर्यौँ। यस लेखलाई लेखमा मात्र सीमित नराखेर हामीले व्यवहारमा उतार्छौँ भने यो सामग्री झुटा अगमवक्ता तथा झुटा शिक्षकहरू चिन्न र तिनीहरू बाट बच्न साँच्चै उपयोगी हुनेछ। यसको लागि हाम्रा आत्मिक अनुशासनको अभ्यासहरूले प्रभावकारी भूमिका निभाँउछन्। जस्तैः प्रार्थना, बाइबल अध्ययनन, धर्मशास्त्रीय तथा ईश्वरशास्त्रीय शिक्षा, सङ्गति आदि। साथै आफूलाई थाहा नभएको वा शङ्का लागेको विषयमा मण्डलीका पास्टर/अगुवाहरू सँग समय लिएर सिक्नु एकदमै उचित हुन्छ। त्यसैगरी, मण्डलीका गोठालाहरूले पनि बफादारिता कायम राख्दै बगालको रखवाली र पालन पोषणमा विषेश ध्यान पुर्‍याउनु पर्दछ ताकि प्रभुको मण्डली झुटको सिकार नबनोस्।


[झुटा अगमवक्ता तथा झुटा शिक्षकहरू चिन्ने बारेको यस लेख तपाईंलाई कस्तो लाग्यो? कृपया तल कमेन्ट बक्समा प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछु। अनि यो सामग्री उपयोगी लागेमा Share पनि गर्नुहोला। साथै सामाजिक सञ्जालहरूमा follow गर्नुहुन पनि अनुरोध गर्दछु। परमेश्वरको आशिष तपाईंमा प्रशस्त गरी रहोस्!]


0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post