समृद्धिको सुसमाचार र नेपाली मण्डलीमा यसको प्रभाव || Samriddhiko Susamachar || Prosperity Gospel in Nepal

prosperity gospel in Nepal, samriddhiko susamachar
समृद्धिको सुसमाचार (जसलाई Prosperity Gospel वा Prosperity Theology भनिन्छ) नेपाली ख्रीष्टियन जगतमा निकैनै प्रभावशाली रुपमा मौलाइरहेको एक खतरनाक झुटो शिक्षा हो। कति चर्चहरूले यसलाई खुला रुपमा स्वीकारेका छन् भने कति चर्चमा ठीक र असल शिक्षा पाउँदापाउँदै पनि धेरै विश्वासीहरू यो शिक्षाको सिकार बनिरहेको तितो यथार्थबाट सायदै कुनै मण्डली बचेको होला। 

के हो त यो समृद्धिको सुसमाचार? कतै तपाईं हामी पनि यसको सिकार त भएका छैनौँ? हो पत्तै नपाई कतिपटक हामी यसको घेराबन्दीमा परिसकेका हुन्छौँ। जे होस सबै चर्चहरू यसको प्रत्यक्ष जोखिममा छन्। त्यसैले आजको यस लेख प्रत्येक विश्वासी तथा स्थानीय मण्डलीलाई यस खतरनाक झुटो शिक्षाको पहिचान गरी त्यसबाट बच्न र ख्रीष्ट येशूको उद्देश्य अनुरूप मण्डलीलाई सही बाइबलीय शिक्षामा बढ्नको निम्ति अत्यन्तै उपयोगी साबित हुनेछ।

१. समृद्धिको सुसमाचार के हो? 

सरल भाषामा भन्नुपर्दा समृद्धिको सुसमाचार भनेको विश्वासीको जीवनमा रोग बिमार हुनुहुँदैन, गरिबी हुनुहुँदैन, तर सम्पन्नता र सुस्वास्थ्य मात्र हुनुपर्दछ भन्ने प्रचार हो। समृद्धिको सुसमाचारले येशू ख्रीष्टको सुसमाचारलाई ओझेल पार्छ, अनि येशूमा विश्वास गर्नुको आशिष भनेको खाली निरोगी हुनु, र धनसम्पत्तिले भरिपूर्ण हुनु हो भनी भन्दछ। अनि गरिबी र रोग बिमार चाहिँ विश्वासको कमीले भएको हो भनी भन्दछ। 

समृद्धिको सुसमाचार अनुसार एक विश्वासीले परमेश्वरलाई आफ्नो इच्छा अनुसार चलाउन सक्दछ। अर्थात् आफ्नो इच्छा पूर्तिको लागि उसले परमेश्वरलाई प्रयोग गर्न सक्दछ।  त्यसको लागि उसले विश्वास साथ प्रार्थना गर्नुपर्दछ। उनीहरूका अनुसार प्रार्थना त्यस्तो खतरनाक हतियार हो, जसद्वारा हामी परमेश्वरलाई घुँडा टेकाउन सक्छौं। उदाहरणको लागि मसँग महँगो कार छैन, तर म विश्वास साथ प्रार्थनामा माग्छु भने परमेश्वरलाई मेरो लागि त्यो पूरा गरिदिन म बाध्य पार्न सक्छु। 

समृद्धिको सुसमाचारमा परमेश्वरको इच्छा खोजिँदैन। तर आफ्नो इच्छा पूर्ति गराउनको लागि परमेश्वरलाई बाध्य गराइन्छ। तर बाइबलीय साँचो शिक्षा चाहिँ यो हो कि परमेश्वर आफ्नो इच्छा अनुसार हामीलाई चलाउन चाहानुहुन्छ।  बाइबलले हामीलाई सिकाउँदछ कि हामी आफ्नो इच्छा होइन तर परमेश्वरको इच्छा खोज्नुपर्दछ। 

अझ सरल भन्दा सरल तवरले, सबैले बुझ्ने भाषामा भन्नुपर्दा, समृद्धिको सुसमाचार भनेको येशू ख्रीष्टमा चङ्गाई पाउने र धनसम्पत्ति लगायत भौतिक आशिष पाउने शिक्षा हो। तर साँचो बाइबलीय शिक्षा चाहिँ येशू ख्रीष्टमा हाम्रो पाप क्षमा, अनन्त उद्धार र मुक्ति पाउनु हो। हामी परमेश्वरबाट आउने भौतिक आषिशहरूलाई इन्कार गर्दैनौ, तर समृद्धिका प्रचारकहरूले पश्चाताप, पाप क्षमा र अनन्त जीवनको बाइबलीय शिक्षालाई ओझेल पार्दै खाली  चङ्गाई र धनसम्पत्ति लाई मात्र जोड दिन्छन्। 

२. समृद्धिको सुसमाचारको इतिहास

समृद्धि सुसमाचारको जरालाई खोतल्ने हो भने १९ औं शताब्दीको अन्त्यतिर देखि र २० औं शताब्दीको सुरुवाततिर पुग्नुपर्दछ। अमेरिकन न्यु थट मुभमेन्ट (New Thought Movement) नै यसको जग हो।

(क) न्यु थट मुभमेन्ट (New Thought Movement) र वर्ड अफ फेथ (Word of Faith) सिद्धान्त  

१८०० को दशकमा न्यु थट मुभमेन्टको सुरूवात भयो। न्यु थट मुभमेन्टका प्रचारकहरूले “तपाईँ जे सोच्नुहुन्छ, त्यही हुन्छ,” “तपाईँले जसरी सोच्नुहुन्छ, त्यसरी नै हुन्छ,” “सबै कुरा तपाईँको सोचाइमा भर पर्छ” भन्ने विचारलाई व्यापक रुपमा फैलाए।

त्यहि न्यु थट मुभमेन्टको विचारलाई २० औं शताब्दीमा 'Word of Faith' (विश्वासको वचन) सिद्धान्तको रुपमा विकसित गरियो।  केनेथ इ. हेगेन (Kenneth E. Hagin) लाई समृद्धिको सुसमाचारको पिता अर्थात संस्थापक मानिन्छ। उनले "तपाईंको मुखबाट निस्कने शब्दहरूले तपाईंको भविष्य निर्धारण गर्छ," “तपाईँको बोलीमा शक्ति छ,” भन्ने शिक्षा दिए, जसलाई धेरै चर्चहरूले अपनाए।  खै किन हो, त्यसबेला र अहिले पनि, मानिसहरूले यो बुझिरहेका छैनन् कि, “हाम्रो भविष्य चाहिँ परमेश्वरमा छ, हामीले बोलेको शब्दहरूमा होइन। शक्ति चाहिँ परमेश्वरमा छ, मेरो बोलीमा होइन।”

(ख) १९५० पछि: टेलिभिजन र मेगाचर्चहरूको उदय  

१९५० पछि, टेलिभिजन र रेडियोको विस्तारसँगै समृद्धिको सुसमाचार विश्वभरी फैलिन थाल्यो। टेलिभिजन प्रचारकहरू जस्तै ओरल रोबर्ट्स (Oral Roberts), केनेथ कोपल्याण्ड (Kenneth Copeland), बेनी हिन (Benny Hinn), जोएल ओस्टिन (Joel Osteen), क्रेफ्लो डलर (Creflo Dollar) आदि विश्वभर चर्चित हुदैँ गए।  

यी प्रचारकहरूले भव्य चर्चहरू निर्माण गरे, निजी विमान किने, महँगा गाडी चढे, र करोडौँ डलरको सम्पत्ति जोडे। उनीहरूका मुख्य शिक्षा भनेकोः  

  • तपाईंले विश्वास गर्नुभयो भने तपाईंले गरिबीबाट छुटकारा पाउनुहुनेछ र धनी बन्नुहुन्छ।
  • तपाईंले हामीलाई भेटी दिनुभयो भने  परमेश्वरले तपाईंलाई कैयौँ गुणा आशिष दिनुहुन्छ।
  • तपाईंको आर्थिक तथा स्वास्थ्य स्थिति तपाईंको विश्वासमा निर्भर हुन्छ। अर्थात्, तपाईँको विश्वास बलियो छ भने तपाईँ धनी बन्नुहुन्छ, चङ्गाई पाउनुहुन्छ, तपाईँलाई कुनै रोग बिमार लाग्दैन। तपाईंको विश्वास कमजोर भएर नै तपाईं गरिब हुनुहुन्छ र तपाईं रोगी हुनुहुन्छ। 

३. समृद्धिको सुसमाचार बारे केही सिद्धान्तगत कुराहरू 

अब यिनीहरूको प्रमुख सिद्धान्त बारे कुरा गरौँ र तिनीहरूलाई बाइबलसँग तुलना गरेर हेरौँ।

(क) दबी गर, घोषणा गर, र पाउनेछौँ

विश्वास साथ प्रार्थना गर, माग, दाबी गरिगरी माग। धन सम्पत्ति माग, घर जग्गा माग, गाडी माग, चङ्गाइ (स्वास्थ्य) माग, तिमीलाई चाहिने सबैथोक माग। यो मेरो भइसकेको छ भनी घोषणा गरी गरी माग। जे मागेको छौ, सो पाइसकेँ भनी स्वीकार गर। तिमीले जे माग्छौ सो तिमीले पाउनेछौ। यदि तिमीले मागेको कुरा पाउँदैनौ भने त त्यो तिम्रो विश्वासको कमीको कारणले गर्दाखेरि हो। तिम्रो विश्वासै पुगेन त्यसैले तिमीले आफ्नो प्रार्थनाको जवाफ पाएनौ। तिम्रो विश्वासको कमीको कारण तिमी गरिब छौ, तिमी रोगी छौ।  

साँचो बाइबलीय ख्रीष्टियन सिद्धान्तः हामीले मागेको कुरा पाएनौ भन्दैमा हाम्रो विश्वास कमजोर छ भनी भन्न पटक्कै मिल्दैन। हामीले मागेको कुरा अर्थात् हामीले प्रार्थना गरेको कुरा नपाउनुमा त्यसको पछाडि धेरैवटा कारणहरू हुनसक्छन्। मुख्य कुरा त १ यूहन्‍ना ५:१४ ले भन्दछ, “परमेश्‍वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्‍छाबमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ।” यस पदमा उहाँको इच्छा बमोजिम माग्ने कुरालाई उल्लेख गरेको छ, त्यसैले हाम्रो प्रार्थना उहाँको इच्छा अनुसारको हुनुपर्दछ।

वास्तवमा परमेश्वरले हाम्रो प्रार्थनाको जवाफ तीन तरिकाले दिनुहुन्छः हुन्छ, हुँदैन, पर्ख। 

हुन्छः यदि हामीले प्रार्थनामा मागेका कुराहरू परमेश्वरको इच्छा बमोजिम छन्, ती हाम्रो आवश्यकताहरू हुन्, जसले परमेश्वरको महिमा गर्दछ भने, परमेश्वरले त्यस्तो प्रार्थनामा हुन्छ भन्ने जवाफ दिनुहुनेछ। 

हुँदैनः परमेश्वरको इच्छा उहाँको मानिसहरू प्रति सधैँ नै असल र उत्तम छ। यदि कुनै प्रार्थना उहाँको इच्छा अनुसार छैन, जसले हाम्रो जीवनलाई फाइदा भन्दा धेरै हानी पुर्याउँछ। जुन कुरा हाम्रो आवश्यकता नै होइन, जुन कुरा हाम्रो लागि उचित छैन, हामीले प्रार्थनामा त्यस्तो कुराहरू माग गर्दा, परमेश्वरले हामीलाई हुँदैन भन्ने जवाफ दिनुहुनेछ। 

अनि कहिलेकाहीँ हाम्रो वर्तमान परिस्थितिको पछाडि परमेश्वरको योजना र उद्देश्य अझ महान भएको कारणले गर्दा पनि उहाँले हामीलाई हुँदैन भन्ने जवाफ दिन सक्नुहुन्छ। उदाहरणको लागि पावलले आफूलाई निको पारिदिनुहोस् भनी प्रभुसँग पटक-पटक बिन्ती गरे तर उनको रोग निको भएन (२ कोरिन्थी १२ः७-१०) । पावलको विश्वास कमजोर भएको कारणले गर्दा यस्तो भएको होइन भनी यस खण्डमा हामी स्पष्ट पाउदछौँ। 

पर्खः कहिलेकाहीँ हामीले प्रार्थनामा मागेको कुरा पाउनको लागि उचित समय आइसकेको हुँदैन। हबकूकले परमेश्वर सामु उजुर गर्दा उहाँले उनलाई कसरी जवाफ दिनुभयो यो हेरौँः “त्‍यो पूरा हुन ढिलो भए तापनि त्यसको प्रतीक्षा गर्दैबस्, किनभने त्‍यो निश्‍चय नै पूरा हुनेछ” (हबकूक २:३)। 

अनि कहिलेकाहीँ हामीले मागेको कुरा पाइहालेको खण्डमा हामी त्यसलाई उचित तवरले प्रयोग गर्न सक्षम भइसकेका छैनौं भने पनि परमेश्वरले निश्चित समयसम्मको लागि पर्ख भनेर जवाफ दिनुहुन्छ। उदाहरणको लागि मैले स्याउ काट्दै गर्दा मेरो सानो छोराले मलाई चक्कु माग्छ, तर उसलाई मैले अहिलेसम्म चक्कु दिएको छैन। एकदिन समय आउनेछ र म उसलाई भन्नेछु, “छोरा, जाउ र स्याउ काटेर ल्याउ।” अब भन्नुहोस्, हाम्रो सर्वज्ञानी परमेश्वर पितालाई झन् हाम्रो प्रार्थनाको उत्तर दिने उचित समयको विषयमा कति बढी गरेर थाहा छ होला!

 (ख) बीउ रोप्ने  (Seed Money) सिद्धान्त

समृद्धिको प्रचारकहरूले भन्छन् कि उनीहरूलाई भेटी पठाउनु अर्थात् उनीहरूको मिनिस्ट्री कि उनीहरूको चर्चमा भेटी पठाउनु चाहिँ परमेश्वरको राज्यमा बिउ रोप्नु हो। यदि कसैले उनीहरूलाई भेटी पठाउँछ भने पठाउनेहरूले परमेश्वरबाट कैयौं गुणा प्रतिफल पाउनेछन्। त्यसैले यदि तपाईँहरू धनी बन्न चाहनुहुन्छ भने, प्रशस्त आशिष पाउन चाहनुहुन्छ भने, हामीलाई भेटी पठाउनुहोस् भनी उनीहरु भन्दछन्।   

साँचो बाइबलीय ख्रीष्टियन सिद्धान्तः दिने विषयमा बाइबलीय सिद्धान्त चाहिँ दिएपछि अझ कैयौं गुणा बढी फिर्ता पाएर धनी  बन्नको लागि दिने होइन। दिने कुरो त सधैं प्रेमसँग जोडिएर आएको छ। परमेश्वरले संसारलाई प्रेम गर्नुभएको कारण उहाँले आफ्नो पुत्र दिनुभयो (यूहन्ना ३ः१६)। 

२ कोरिन्थी ९:७ मा यसो लेखिएको छ, “अनि हरेक मानिसले आफ्‍नो मनमा सङ्कल्‍प गरेबमोजिम देओस्, इच्‍छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्‍छ।” त्यसैले दिने कुरा चाहिँ हृदयसँग जोडेको कुरा हो, दिँदैमा परमेश्वरले मलाई धनी बनाउनुहुन्छ भन्ने होइन। 

परमेश्वरले हामीलाई धनी बनाउनको लागि दिने प्रतिज्ञा गर्नुभएको छैन। उहाँले त हामीलाई हाम्रा खाँचोहरू पूर्तिको निम्ति दिने प्रतिज्ञा गर्नुभएको छ। -“मेरा परमेश्‍वरले आफ्‍नो महिमामा उहाँको सम्‍पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्‍ट येशूमा पूरा गरिदिनुहुनेछ” (फिलिप्पी ४:१९)।

…अनि भक्तिचाहिँ फाइदा उठाउने उपाय हो भनी तिनीहरू (समृद्धिको प्रचारकहरू) ठान्‍छन्‌” (१ तिमोथी ६:५)। 

(ग) स्वास्थ्य (चङ्गाई) र धन नै परमेश्वरको आशीषको मापक

समृद्धिको सुसमाचार प्रचारकहरूले भन्ने गर्दछन् कि धनी हुनु र स्वस्थ हुनु नै परमेश्वरको आशिषको चिन्ह हो। यदि तपाईं गरिब हुनुहुन्छ वा बिरामी हुनुहुन्छ भने, तपाईंको विश्वास कमजोर छ भन्ने बुझिन्छ।  अतः धन र स्वास्थ्य नै परमेश्वरको आशिष नाप्ने सुचक हो। 

साँचो बाइबलीय ख्रीष्टियन सिद्धान्तः हो, धनसम्पत्ति, मान, इज्जत, र सुस्वास्थ्य पनि परमेश्वरको आशिषहरू मध्यमा अवश्य नै पर्दछन्। तर यसलाई नै हाम्रो विश्वासको अर्थात् परमेश्वरको आशिषको मापक बनाउनु भने बाइबलिय होइन। 

येशूले भन्नुभयो , “...संसारमा तिमीहरूलाई सङ्कष्‍ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु” (यूहन्ना १६ः३३)। यो पदलाई पढ्दा हामी थाहा गर्छौं दुःख कष्टहरू हाम्रो विश्वास कमजोर भएको कारण कि परमेश्वरबाट आशिष नपाएको कारणले गर्दाखेरि आउने होइन।  बरु, उहाँले त हामीलाई ती अवस्थाहरुको लागि तयार गर्नुभएको छ, जसबाट भएर जाँदा स्थिर रहने साहस उहाँले हामीलाई दिनुहुन्छ। 

हाम्रो जीवनमा आइपर्ने दुःख कष्टहरूलाई त ख्रिष्टियन जीवनको एक पाटोको रुपमा बाइबलमा  उल्लेख गरेको पाउँदछौं। २ तिमोथी ३:१२ ले यसो भन्छ, “ख्रीष्‍ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्‍छा गर्नेहरू सबै जना सतावटमा पर्ने नै छन्।” 

ख्रीष्टको एक साँचो सेवकको परिचय प्रेरित पावलले फिलिप्पी ४ः१२ मा यसरी दिएका छन्, “कसरी होचिन र कसरी बढ्‌न म जान्‍दछु। परिपूर्णतामा होस्‌ वा भोकप्‍यासमा होस्, प्रशस्‍ततामा होस्‌ वा अभावमा होस्, सबै परिस्‍थितिमा सन्‍तुष्‍ट रहने रहस्‍य मैले सिकेको छु।” 

प्रेरित पावल आफै पनि बिरामी परेको कुरा गलाती ४ः १३-१४  मा उल्लेख गरिएको छ भने उनको एउटा विराम निकै नभएको कुरा हामीले २ कोरिन्थी १२ः७-१० बाट हेरिसकेका छौं। 

त्यसैगरी अरु प्रेरितहरू पनि धेरै दुःख, कष्ट, सतावट र अभावबाट भएर गएको कुरा इतिहास साक्षी छ। 

त्यसैले कुनै पनि विश्वासी कतिको धनी छ, कतिको निरोगी छ भन्ने कुराले उसको आत्मिक जीवनको मापन गर्दैन। परमेश्वरको आशिष चाहिँ भौतिक सुखसयल भन्दा पनि आत्मिक आशिष हो भनी बाइबलले जोड दिँदछ। एफिसी १ः३ मा यसरी लेखिएको छ, “हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्‍वर्गीय स्‍थानहरूमा हरेक आत्‍मिक आशिष्‌ले ख्रीष्‍टमा आशीर्वाद दिनुभएको छ।”

समृद्धिको सुसमाचार प्रचारकहरू यी र यस्तै किसिमको अन्य सिद्धान्तहरूको प्रचार गर्दछन् र सिकाउँदछन्। जसले येशु ख्रीष्टमा पाप क्षमा र उद्धारको शिक्षालाई भन्दा पनि कसरी धनी बन्न सकिन्छ, कसरी चङ्गाई पाउन सकिन्छ, कसरी स्वस्थ बन्न सकिन्छ, र कसरी एउटा सम्पन्न जीवन जिउन सकिन्छ भन्ने कुरालाई जोड दिन्छन्। 

किन उनीहरू यसो गर्छन् त? यसको पछाडि गम्भिर कारण छ, जुन चाँहि वर्ड अफ फेथ को सिद्धान्त हो। अब हामी वर्ड अफ फेथको यस डरलाग्दो सिद्धान्तलाई हेरौँ।

(घ) वर्ड अफ फेथको डरलाग्दो सिद्धान्त

वर्ड अफ फेथको सिद्धान्त अनुसारः मानिसलाई परमेश्वरले आफ्नै स्वरूप र प्रतिरूपमा बनाउनुभयो भन्नुको अर्थ उहाँको पनि भौतिक शरीर छ र मानिसलाई उहाँ जस्तै बनाउनुभयो, त्यसैले मानिस चाँहि सानो परमेश्वर हो। मानिस पापमा पतन हुन अघि सम्म उसले आफ्नो विश्वासको वचनले परमेश्वरले जस्तै जे पनि गर्न सक्थ्यो (नयाँ थोक सृष्टि गर्न पनि), तर पतन पछाडि उसले शैतानको स्वरूप धारण गर्यो र त्यो विश्वासको शक्ति गुमायो। तर येशूले त्यस शैतानिक स्वभाव आफूमाथी लिएर क्रूसमा मर्नुभयो अनि पुनरुत्थान र स्वर्गारोहण पश्चात मानिसलाई उसले अदनको बगैचामा गुमाएको परमेश्वरको त्यो स्वभाव दिन पवित्र आत्मा पठाउनुभयो। त्यसैले विश्वासीहरू अब नयाँ स्वभावमा साना परमेश्वरहरू भएका छन् र उनीहरूको वचनमा परमेश्वरको जस्तै जे पनि गर्नसक्ने शक्ति छ। त्यसैले हामीले विश्वास साथ बोलेमा, बोलेको त्यस वचनको शक्तिले जे पनि सम्भव छ।

यो त सरासर झुटो शिक्षा हो। यो त ईश्वर निन्दा हो। यो सिद्धान्तले त येशूको ईश्वरत्वलाई इन्कार गरी शैतान बनाइदियो! अनि मानिसको स्थानमा परमेश्वरलाई र परमेश्वरको स्थानमा मानिसलाई राख्यो! परमेश्वरको स्वरूप र प्रतिरूपले त उहाँको स्वभावहरू जनाउँछ भनि बाइबलले स्पष्ट भन्दछ (एफिसी ४ः२४)। तर समृद्धिको प्रचारकहरूको मूल जरा नै यस बाइबल विरोधी सिद्धान्त भएकोले, जानीजानी होस् या अन्जानमा, उनीहरू सबैले माथि उल्लेख गरेका डरलाग्दो अबाइबलीय शिक्षा दिन्छन् र त्यस्तै क्रियाकलापहरू गर्छन्।

४. समृद्धि प्रचारकहरूका क्रियाकलापहरू 

समृद्धि प्रचारकहरूको क्रियाकलापहरू झट्ट हेर्दा बाइबलीय र सही किसिमको जस्तो देखिन्छ।  तर त्यसलाई बाइबलीय तवरले केलाएर हेर्दा बल्ल उनीहरूको वास्तविकता थाहा हुँदछ। त्यसैले कुनै प्रचारकले तल उल्लेखित लगायतका क्रियाकलापहरू गर्दैछ भने कतै त्यो व्यक्ति समृद्धिको प्रचारक त होइन भनी हामीले उसको शिक्षालाई बाइबलसँग दाँजेर हेर्नुपर्छ। त्यसैगरी त्यस व्यक्तिको विषयमा आफ्नो मण्डलीको पास्टर अगुवाहरू र शिक्षकहरू सँग सोधखोज गर्नुपर्दछ। 

(क) साँचो शिक्षाका ख्रीष्टियन सम्प्रदायप्रति गलत धारणा व्यक्त गर्ने

समृद्धिका प्रचारकहरू ख्रीष्टियन सम्प्रदायहरूप्रति फरकफरक किसिमको गलत धारणा व्यक्त गर्दछन्। कतिले भन्छन्, डिनोमिनेसनहरू अर्थात् सम्प्रदायहरू को पछि लाग्नु हुँदैन, तिनीहरूको कुरा सुन्नु हुँदैन, हामी त बाइबलले के भन्छ त्यो पो ध्यान दिनुपर्दछ त। यो भनाइद्वारा उनीहरू क्रिश्चियन डिनोमिनेसनहरू अबाइबलीय हुन् र मैले मात्र बाइबलीय सिद्धान्त सिकाउँछु भन्ने भ्रम छर्छन्। त्यति मात्र नभएर कतिपय समृद्धिको प्रचारकहरूले उनीहरूको सिद्धान्त फरक त छ, तर यो झुटो शिक्षा होइन, यो चाहिँ फरक फरक डिनोमिनेसनको फरक फरक सिद्धान्त भएजस्तै हो भनी झुक्याउन खोज्छन्। 

(ख) मण्डलीमा अन्य प्रचारकहरूलाई अङ्कुश लगाउने

धेरैजसो समृद्धिका प्रचारकहरूले  उनीहरूको मण्डलीमा  अरुलाई प्रचार गर्न दिँदैनन् र सधैँभरि आफैँले मात्र प्रचार गरिरहन्छन्। कतिपय समृद्धिका प्रचारकहरूको मण्डलीमा भने त्यहाँका अगुवाहरूलाई  कहिलेकाहीँ प्रचार त गर्न दिइन्छ तर बाइबलीय सैद्धान्तिक कुराहरू प्रचार गर्न दिइँदैन। मण्डलीको सिद्धान्त चाहिँ मैले बाहेक अरुले प्रचार गर्नु हुँदैन भन्ने धारणा समृद्धिका प्रचारकहरूले राख्छन्। त्यसैले कुनै अगुवाले त्यस मण्डलीमा प्रचारको अवसर पाइहाल्यो भने पनि उसलाई जे बोल्न अराइएको छ त्यो बाहेक उसले अरु बोल्न पाउँदैन। 

(ग) धर्मशास्त्रीय तथा ईश्वरशास्त्रीय शिक्षा र शिक्षण संस्था प्रति गलत धारणा व्यक्त गर्ने

समृद्धिका प्रचारकहरू मध्य  कतिपयले बाइबल कलेज जानु हुँदैन, तालिम ट्रेनिङ गरिराख्‍नु आवश्यक हुँदैन, बाइबल कलेज गएर चर्च फुटाउँछन्, बाइबल कलेजले टाउको मात्र ठूलो बनाउँछ, सेवा गर्नेलाई प्रभुले त्यत्तिकै चलाइहाल्नुहुन्छ, जस्ता गलत कुराहरू गरेर अध्ययनको लागि  स्थापित ईश्वरशास्त्रीय शैक्षिक संस्थाहरूमा जानदेखि रोक्छन्। अनि कतिपयले चाहिँ सीमित तालिम केन्द्रहरूमा मात्र तालिमको लागि पठाउने गर्दछन्  जहाँ समृद्धिको सुसमाचारको सिद्धान्त सिकाइन्छ। 

(घ) क्रूस विनाको महिमाको प्रचार

समृद्धिको प्रचारकहरूले आफ्नो प्रचारमा आर्थिक सम्पन्नता र शारीरिक चङ्गाईलाई मात्र धेरै जोड  दिन्छन्, अनी विश्वासीहरूको दुःख कष्टलाई भने कमजोर विश्वासको प्रतिफल मान्छन् । तर येशूले भन्नुभयो, "जो आफ्‍नो क्रूस उठाएर मेरो पछि लाग्‍दैन, त्‍यो मेरो योग्‍यको हुँदैन" (मत्ती १०:३८। 

(ङ) पैसा माग्ने

श्रोताहरूलाई कुनै न कुनै बहानामा उनीहरूको सेवकाईको लागि वा उनीहरूको चर्चमा भेटी पठाउन उक्साउछन। उनीहरूले आफ्नो प्रचार वा प्रार्थना सेवामा कहिँ न कहिँ भेटी माग्छन् माग्छन्।  उनीहरुलाई भेटी पठाएमा परमेश्वरले प्रशस्त आशिष दिनुहुनेछ भनी उनीहरुले भन्ने गर्दछन्।  तर अन्ततः प्रचारकहरू मात्र धनी बन्दै जान्छन र उनीहरूको जीवन शैली उनीहरूलाई भेटी पठाउनेहरू र उनीहरूको चर्चको विश्वासीहरूको भन्दा धेरै फरक हुँदै जान्छ।

(च) सामाजिक संजाल लगाएत अन्य अनलाईन माध्यमद्वारा सेवा संगती र प्रचार गर्ने

समृद्धिका प्रचारकहरू विशेषगरी युट्युब, फेसबुक जस्ता सामाजिक सञ्जालहरू र अन्य अनलाइन को माध्यमद्वारा प्रचार तथा सेवा संगति गर्ने गर्दछन्। कतिपयको त मण्डली भवन पनि हुँदैन र उनीहरु अनलाइन मार्फत नै चंगाईको प्रार्थना गर्ने कि वचन प्रचार गर्ने गर्छन्। अनि भेटी चाहिँ उनीहरूको खातामा पठाउन लगाउँछन्। कतिपय समयमा त उनीहरू आफै भेटी लिन घर-घर पनि पुग्छन्। 

(छ) सुरुमै बोलीले ध्यान खिच्ने

समृद्धि प्रचारकहरू, "आज म रहस्यको कुरा बताउछु," "नयाँ कुरा बताउछु," "पवित्र आत्माले आज नयाँ काम गर्न जादै हुनुहुन्छ" इत्यादि भन्दै सुरुमै स्रोताको ध्यान खिच्ने गर्छन्। यदि कसैले त्यस्तो भन्दैछ भने नझुक्किनुस्, किनकि परमेश्वरले आफ्नो सबै रहस्य र उहाँका कामहरु आफ्नो पवित्र वचन बाइबलमा हामी सबैको सामु प्रष्ट पार्नुभएको छ। उनीहरुलाई सुन्नुको सट्टा बरु हामी बाइबल अध्ययनमा लाग्नुपर्दछ।

(ज) प्रतिष्ठाको लालची

समृद्धि प्रचारहरू प्रतिष्ठाको लोभी हुन्छन् र त्यो प्राप्त गर्न उनीहरू फरक फरक तरिका अपनाउँछन्। उनीहरूको प्रचार, कुराकानि, लेख वा अन्य क्रियाकलापहरूमा खाली आफैलाई उचाल्ने, बढाई गर्ने, आफ्नै कुरा गर्ने गर्छन्। उनीहरू शक्ति र पदको लागी पनि मरिहत्ते गर्ने किसिमका हुन्छन्, जसको गलत प्रयोगद्वारा अरूहरूमा आफ्नो प्रभाव कायम राख्न र नियन्त्रण गर्न सकियोस् भन्ने मानसिकताले ग्रसित हुन्छन। 

यी र यस्तै किसिमका तपाईँलाई धनी बन्ने प्रलोभनमा पार्ने क्रियाकलाप कुनै प्रचारकले गर्दैछ भने कि पैसा वा शक्तिको प्रलोभन देखाएर  तपाईंलाई प्रभाव पार्न खोज्दैछ वा तपाईँलाई चङ्गाइको प्रार्थना गरिदिने, रोग बिरामी निको पारिदिने भनी तपाईंसँग भेटी माग्दैछ भने तुरुन्तै आफ्नो मण्डलीको पास्टर अगुवाहरूसँग सम्पर्क गरी उक्त कुरा बताउनुहोस्।

 ५. नेपाली मण्डलीमा समृद्धिको सुसमाचारको प्रभाव

समृद्धिको सुसमाचारको प्रभाव विश्वभर छरिएर रहेका सबै नेपाली मण्डलीहरूमा पनि व्यक्त रहेको छ। विशेषगरी हाम्रो कमजोर शैक्षिक स्तर तथा कमजोर आर्थिक स्थितिको गलत फाइदा उठाई समृद्धिको प्रचारकहरूले मण्डलीको मेरुदण्डमै प्रहार गरेका छन्। पछिल्लो समय मानिसहरूको माझमा इन्टरनेटको पहुँच बढ्दै गएसँगै सामाजिक सञ्जालको माध्यमद्वारा समृद्धिको प्रचारकहरू झन् झन् प्रभावशाली बन्दै गएका छन्। नेपाली मण्डलीहरूमाथि यस झुटो शिक्षाले पारेको मुख्यमुख्य  प्रभावहरूमाथि हामी नजर राखौँः

(क) आर्थिक शोषण

विशेषगरी वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा रहेका नेपाली विश्वासीहरू माथि उनीहरूको आक्रमण तीव्र छ। परदेशमा रहँदा संगति गर्ने अनुकूल वातावरणको अभावमा युट्युब जस्ता सामाजिक सञ्जालहरूको प्रयोगबाट वचन सुन्ने क्रममा धेरैजना नेपाली विश्वासीहरू यस झुटो शिक्षाको  फन्दामा पर्नेगरेका छन्। युट्युबबाट वचन सुन्दै जाने क्रममा कतै न कतै कुनै न कुनै बहानामा समृद्धिका प्रचारकहरूले उनीहरूलाई भेटी पठाउन बाध्य गराउँछन्। यसरी समृद्धिको प्रचारकहरूले वैदेशिक रोजगारीमा रहेका नेपाली विश्वासी दाजुभाइ दिदीबहिनीहरूमाथि चरम आर्थिक शोषण गर्दै आइरहेका छन्। 

युटुब, फेसबुक जस्ता सामाजिक सञ्जालहरू मार्फत समृद्धिका प्रचारकहरूले फैलाएको प्रभाव नेपालमै भएका मण्डलीहरू माथि पनि कम भने छैन। हो, हामी धेरैजसो नेपाली मण्डलीहरू मध्यमवर्गीय छौँ, र धनी बन्ने प्रलोभनमा सहजै फस्न सक्छौँ। आशिष् पाउनको लागि उनीहरूको सेवकाईमा भेटी पठाउनु भनिन्छ, र धनी बन्ने लोभमा हामीहरू सहजै लुटिन्छौँ। त्यति मात्र होइन, भेटी पैसा, अक्षता चामल र भाले, बोका बोकेर धामी झाँक्री कहाँ गएको हाम्रो बानी अझै कहाँ छुटेको छ र? समृद्धिका प्रचारकहरूले प्रार्थना गरिदिने भन्दै पैसा माग्दा, हामीलाई प्रार्थनाको लागि पैसा तिर्नु कुनै सङ्कोच छैन! 

(ख) मण्डलीमा गलत शिक्षाको बिजारोपण 

समृद्धिका प्रचारकहरूले बाइबल आधारित आत्मिक शिक्षालाई वेवास्ता गर्दै भौतिकवादलाई बढी प्राथमिकता दिई प्रचार गरेको कारण सामाजिक सञ्जालहरू मार्फत उनीहरूको प्रचार सुन्ने  धेरै विश्वासीहरूमा गलत धारणाको विकास हुँदै गइरहेको छ। फलस्वरूप साथीभाइहरूसँगको भेटघाटमा होस् या सङ्गतिमा उनीहरू निर्धक्कका साथ  यस गलत शिक्षाको वकालत गर्दछन्। हप्तैभरि युट्युब लगायतका सामाजिक सञ्जाल मार्फत समृद्धिका प्रचारकहरूलाई सुन्ने र शनिबार दुई घण्टाको लागि मात्र चर्च जाने हाम्रो अस्वस्थ आत्मिक अभ्यासको कारण मण्डलीमा यसको प्रभाव झाँगिँदै गइरहेको छ।  

(ग) समृद्धिको प्रचारकहरूसँग विश्वासीहरूको मजबुत सम्बन्धको विकास

समृद्धिको प्रचारकहरू आफ्नो बोलीवचनद्वारा मानिसहरूलाई सहजै प्रभाव पार्ने कलाले निपूर्ण भएको कारण विभिन्न माध्यमबाट उनीहरूको प्रचार सुन्ने विश्वासीहरू उनीहरूलाई मन पराउन कत्ति पनि समय नलगाउन सक्छन्। हो, धेरै जनालाई उनीहरू समृद्धिको प्रचारकहरू हुन् भन्ने थाहा  हुँदैन र तिनीहरूको प्रचार सुन्ने गर्छन्। तर उसलाई सुन्दै जाने क्रममा त्यो प्रचारक त उनीहरूको नायक बनिसकेको हुन्छ। 

अनि एकजना पास्टर कि मण्डलीको अगुवाको नाताले तपाईंले त्यस विश्वासीलाई यो त ठीक शिक्षा होइन,  युट्युबमा यसको वचन नसुन्नु  भन्नुहुँदा, “ए हो र?” वा “म त सधै यहि सुन्छु।” वा “मलाई त राम्रो लाग्छ।” वा “राम्रो प्रचार गर्छ त ।” वा “हुन्छ अबदेखि यो प्रचारको वचन सुन्दिन।” लगायतको प्रतिक्रिया त सुन्नुभएकै होला। अनि फेरि अर्को पल्ट जाँदा त्यस विश्वासीले त्यही प्रचारकलाई सुनिरहेको भेट्टाउनु भएको पनि होला। हो, धेरैपटक विश्वासीहरूको सम्बन्ध आफ्नो मण्डलीको पास्टर अगुवाहरुसँग भन्दा पनि युट्युब र फेसबुकका समृद्धिका प्रचारकहरूसँग घनिष्ठ रहेको यो तितो यथार्थ हो। 

(घ) आर्थिक रूपमा कमजोर, बिरामी र सतावटमा परेका विश्वासीहरूमा नकारात्मक मानसिक प्रभाव

समृद्धि प्रचारकहरूको कारण आर्थिक रूपमा कमजोर, बिरामी र सतावटमा परेका धेरै विश्वासीहरूमा, “मेरो विश्वासको कमीको कारण म गरिब छु, मेरो रोग बिरामी निको भएको छैन मैले दुःख कष्ट भोग्नु परेको छ, म त कस्तो विश्वासै गर्न नसक्ने मान्छे,” जस्ता भाव पैदा भइ गम्भीर मानसिक समस्याको स्थितितर्फ धकेलिएका छन्। उनीहरू आफूलाई कमजोर विश्वास भएको श्रापित व्यक्तिहरू सम्झन्छन्। तर येशूले के भन्नुहुन्छ हेरौँः  “धन्‍य आत्‍मामा दीन हुनेहरू, किनभने स्‍वर्गको राज्‍य तिनीहरूको हो। धन्‍य धार्मिकताको निम्‍ति सताइनेहरू, किनभने स्‍वर्गको राज्‍य तिनीहरूको हो” (मत्ती ५ः३, १०)। 

आफ्ना चुनिएका जनहरू कठिन परिस्थितिहरू भएर जाँदा परमेश्वर हामीलाई सहायता गर्ने प्रतिज्ञा गर्नुहुन्छ। यशैया ४:२ मा उहाँ भन्नुहुन्, “तँ पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु। तँ नदीहरूबाट भएर जाँदा तिनले तँलाई डुबाउनेछैनन्‌। तँ आगोबाट हिँड़ेर जाँदा डढ्‌नेछैनस्‌। त्‍यसको ज्‍वालाले तँलाई भस्‍म पार्नेछैन।” साँचो बाइबलीय शिक्षा चाहिँ परमेश्वर सबै परिस्थितिमा हामीसँग हुनुहुन्छ। र उहाँको प्रेम आनन्द र शान्ति हामी जुनसुकै अवस्थामा पनि महसुस गर्न सक्छौ। तर समृद्धिका प्रचारकहरु परमेश्वरको राज्य भनेको सम्पन्नतामा मात्र हुन्छ भनि प्रचार गर्छन् ।

(ङ) गोठालाहरू माथि थपिएको चुनौती 

माथिका सबै कुराहरू हेरिसकेपछि, समृद्धिका प्रचारकहरूले पास्टरिय सेवकाईमा कति धेरै चुनौतीहरू थपिदिएका छन् भनि धेरै भनिरहनु नपर्ला। समृद्धिको प्रचार सुन्ने लत लागिसकेका र शारीरिक चङ्गाई, चिन्ह र आश्चर्यका कामहरूको लागि ठाउँ-ठाउँ दगुर्ने विश्वासीहरूलाई सही बाइबलीय मार्गमा फर्काउन मण्डलीका पास्टर अगुवाहरूलाई त्यति सहज भने छैन। तर हाम्रो भरोसा र प्रार्थना यही हो कि, हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टले, आफ्नै रगतको दाम तिरी किन्नुभएको उहाँको मण्डलीलाई उचित हेरचाह गर्ने जुन जिम्मेवारी गोठालाहरूलाई सुम्पनु भएको छ, त्यसमा उहाँले अवश्य नै सहायता गर्नुहुनेछ। 

६. समृद्धिको सुसमाचार प्रचार गर्ने केही नेपाली प्रचारकहरू 

माथिका सबै कुराहरू हेरिसकेपछि पनि, कतिपटक हामीलाई समृद्धिको प्रचारकहरू चिन्न गाह्रो हुने भएकोले, मुख्यतया नेपाली मण्डलीहरूमा विभिन्न माध्यमद्वारा समृद्धिको सुसमाचार फैलाउने प्रचारकहरू को-को हुन् भनी तल सूचीबद्ध गरिएको छ। 

अन्तिम भनाई

"तर धनी हुने इच्‍छा गर्नेहरू परीक्षामा पर्छन्, पासोमा फस्‍छन्‌ र धेरै अर्थहीन र दुःखदायी इच्‍छाहरूमा डुब्‍छन्, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन्‌। किनभने रुपियाँपैसाको मोह नै सबै किसिमका खराबीको जड़ हो। पैसाको लोभमा परेर कोही-कोही विश्‍वासबाट कुमार्गतिर लागेका छन्, र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन्‌" (१ तिमोथी ६ः९-१०)।

समृद्धिको सुसमाचार येशू ख्रीष्टको सुसमाचारको ठीक विपरित छ। यो बाइबलीय शिक्षा होइन्। किनकि ख्रीष्टियन जीवनको मुख्य लक्ष्य भौतिक समृद्धि होइन, तर परमेश्वरसँगको अनन्त आत्मिक सम्बन्ध हो। अनुग्रहबाट विश्वासद्वारा ख्रीष्ट येशूमा हाम्रो पाप क्षमा र अनन्त जीवन नै साँचो सुसमाचार हो।  यस सुसमाचारको विपरीत कुनै प्रचारकले वा स्वर्गबाट आउने दूतले नै प्रचार गर्‍यो भने पनि त्यो व्‍यक्‍ति श्रापित होस्‌ (गलाती १ः८)।

[समृद्धिको सुसमाचार र नेपाली मण्डलीमा यसको प्रभाव विषयक आजको यो सामग्री तपाईँलाई कस्तो लाग्यो, कृपया कमेन्ट गर्नुहोला। यो सामग्री उपयोगी लागेमा आफ्नो मण्डली तथा साथीभाइहरूलाई पनि पठाउनुहुन अनुरोध गर्दछु। यदि तपाईँहरू मध्य कोही यस झुटो शिक्षाको बन्धनमा  हुनुहुन्छ भने, मृत्युमाथि विजयी हुनुहुने हाम्रा प्रभु येशू ख्रीष्टले त्यहाबाट निस्केर आउन तपाईँलाई सहायता गरुन् भन्ने प्रार्थना सहित बिदा माग्न चाहन्छु, जयमसिह। ]


0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post