सच्चाई केन्द्र नेपाल, जसलाई ईश्वरीय मार्ग भजनमण्डल, अनि सत्संग पनि भनिन्छ। तर पछिल्लो समय सच्चाईको अरू पनि धेरै समूहहरू नेपालमा प्रभावशाली रुपमा बढिरहेका छन्। बाहिरबाट गैर-ख्रीष्टियन समुदायले हेर्दा ठ्याक्कै ख्रीष्टियनहरू जस्तो देखिने, तर ख्रीष्टियनहरूले हेर्दा ठ्याक्कै हिन्दू जस्तो देखिने भएको कारण यसको पहिचानलाई लिएर समाजमा रहेका विविध अन्योलहरूका बीच यो समूह नेपालमा तीव्र रुपमा बढ्दै गइरहेको छ। त्यसोभए, वास्तवमै सच्चाई केन्द्र नेपाल के हो? नेपालमा सच्चाईको सुरुवात कसरी भयो? यसको इतिहास, सैद्धान्तिक र व्यावहारिक पक्षहरूसँगै नेपाली समाजमा सच्चाई केन्द्र नेपालले पारेको प्रभावको विषयमा यो लेख पढिसकेपछि तपाईँलाई छर्लङ्ग हुनेछ। याद राख्नुहोस्, यस लेखमा धेरैपटक सच्चाई केन्द्र नेपाल भन्दै गर्दा यसले समग्र सच्चाई समूहहरूलाई जनाइरहेको हुनेछ।
के हो सच्चाई केन्द्र नेपाल? What is Sachai Kendra Nepal
सच्चाई केन्द्र नेपाल के हो भनेर बुझ्नको लागि पहिले हामी सच्चाई केन्द्र नेपालको आफ्नो आधिकारिक वेबसाइटबाट हेरौँ, जहाँ यसरी लेखिएको छः
“सच्चाई शब्दको अर्थ सत्य हो। सच्चाई सकारत्मक सोचको ज्योति हो। जहाँ सच्चाई छ, त्यहाँ सत्यको नै जित हुन्छ । हामी ईश्वरको प्रार्थना गर्छौँ। ईश्वरलाई चिज-वस्तुमा होइन, ढुङ्गा-माटोमा होइन, मन्दिर-मुर्तीमा होइन, स्वयम् आफूमा खोज्ने र पाउने विश्वास राख्दछौँ। हामी ईश्वरको सम्झनामा मन लगाइराख्छौँ र यस अमुल्य जिवनको लागि करोड करोड धन्यवाद चढाउदछौँ। हामी मानिसको सोचको सम्मान गर्छौँ र समाजमा बसेको नकारात्मक सोचलाई सकारात्मक बनाउन सधैँ अग्रसर हुन्छौँ। हिमाल भन्दा पनि अग्लो सोच, विचार अनि मन बनाउनुस्। तुफान भन्दा पनि तेज जोस जाँगर राख्नुस्। दुनियाँ सबै स्वार्थी छन्। दुनियाँ सँग होईन, मन सदा ईश्वर सँग लगाई राख्नुस्।”
अब हामी सच्चाई केन्द्र नेपालको मूल नारा माथि पनि नजर राखौ। जहाँ यसरी लेखिएको छ: “हिमाल पहाड तराई, कोही छैन पराई, सबैलाई समेट्ने एक मात्र सच्चाई।”
सच्चाई केन्द्र नेपालको आधिकारिक वेबसाइटबाट लिएका यी भनाइहरू हेर्दा हामीलाई यो स्पष्ट हुँदछ कि सच्चाईहरूले आफूलाई ख्रीष्टियन भनेर चिनाउन चाहँदैन। किनकि यहाँ न त ख्रीष्टियन भन्ने शब्द उल्लेख छ, न त येशू ख्रीष्ट र बाइबलका कुराहरू नै उल्लेख गरिएका छन्। यहाँ त केवल यो समूह सत्यलाई पछ्याउने समूह हो भन्न खोजिएको जस्तो देखिन्छ। त्यसको साथै यहाँ नेपालको भूगोललाई समेटिएको छ, त्यहाँ कुनै धार्मिक समूहको कुरा गरिएको छैन। यसको मतलब सच्चाई नेपालको सबै भूगोलमा बस्ने सबै धर्मका मानिसहरूलाई समेट्न खोज्दछ। यो कुरा सच्चाईका संस्थापकहरूले र प्रचारकहरूले सार्वजनिक रुपमा अभिव्यक्त गरेका सामाजिक सञ्जालमा प्रकाशित विभिन्न सामग्रीहरूबाट पनि थप स्पष्ट हुँदछ।
यद्यपि सच्चाई केन्द्र नेपालले समाजमा आफ्नो छुट्टै पहिचान बनाउन खोज्दाखोज्दै पनि यसमा ऊ पूर्ण रुपमा सफल भने देखिँदैन। किनकि प्राय सबै गैर-ख्रीष्टियनहरूले सच्चाईलाई ख्रीष्टियनको रुपमा हेर्ने गरेका छन्, किनकि उनीहरु येशूको नाम लिन्छन्, प्रचार गर्दा बखत कति पटक बाइबलका पदहरू जोड्छन् र रोगी बिरामीलाई निको पार्न भन्दै येशूको नाममा प्रार्थना पनि गर्छन्।
फेरि यता, ख्रीष्टियनहरूले भने उनीहरूलाई ख्रीष्टियनहरूको रुपमा हेर्दैनन्, किनकि सच्चाईले राम्रोसँग बाइबल अध्ययन गर्दैन, ख्रीष्टियन सिद्धान्तमा चल्दैनन्, उनीहरूले येशूको नाउँ लिए तापनि आफ्नो पुरानै जीवनमा उनीहरु जिउछन्, पुरानै धर्मको अभ्यासहरूलाई जारी राख्छन् त्यसैकारण उनीहरु ख्रीष्टियन हुँदै होइनन् भनी भन्दछन्।
माथिका यी कुराहरू हेरिसकेपछि यो निष्कर्षमा पुग्न उचित हुन्छ कि “सच्चाई केन्द्र नेपाल ख्रीष्टियन धर्म र हिन्दु धर्मको समिश्रणबाट आएको एक छुट्टै धार्मिक समूह हो।” यसको सुरुवात र विकास कसरी भयो त भन्ने विषयमा अझ हामी विस्तारमा हेर्दै जानेछौ।
सच्चाई केन्द्र नेपालको इतिहास || History of Sachchai Kendra Nepal
सच्चाई केन्द्र नेपालले गरेको दाबी अनुसार विक्रम सम्वत् २०७१ सालदेखि नेपालमा सच्चाईको सुरुवात भएको हो। यसको संस्थापकको रुपमा प्रकाश दीप गैरे छन् भने सह-संस्थापकको रुपमा उनकी पत्नी शुशिला गैरे छिन्। यी दम्पतीले कसरी र कहाँबाट सच्चाई केन्द्र नेपाल सुरुवात गरे भनी कहिँ कतै उल्लेख गरेका छैनन्। तर केही समय पहिले सच्चाई केन्द्र नेपालको वेब साइटमा प्रकाश दीप गैरेले लेखे अनुसार, देशमा विद्यमान सामाजिक विकृति र निराशाजनक राजनीतिक अवस्थाको कारण निराश भइरहेको बेलामा उनले सच्चाईलाई भेटेको भनी उल्लेख गरेका छन्। यसबाहेक नेपालमा सच्चाइको सुरुवात कसरी र कहाँबाट भयो भनी कहिँ कतै आधिकारिक रुपमा उल्लेख गरेको पाइँदैन।
त्यसैले हामीले सच्चाई केन्द्र नेपालको इतिहासलाई पहिल्याउनको लागि अरु नै स्रोतहरूको सहायता लिन बाध्य हुन्छौ। उपलब्ध एकदमै सीमित स्रोतहरूलाई हेर्दा सच्चाई केन्द्र नेपाल उत्तरपश्चिम भारत हुँदै नेपाल भित्रिएको मान्न सकिने केही बलिया आधारहरू भेट्न सकिन्छ। झुटो शिक्षाबारे जानकारी नामक पुस्तकमा लेखक द्वय आशिष सिन्हा र रोहित ढकालले सच्चाई केन्द्र नेपालको बारेमा लेख्दै गर्दा यसको इतिहासलाई विस्तृतमा वर्णन गरेको त पाइँदैन तर यस्तै किसिमको सत्संग भन्ने एउटा समूह भारतको उत्तराखण्डमा रहेको भनी उल्लेख गरेका छन्।
त्यसैगरी फ्रेसनो प्यासिफिक युनिभर्सिटी, इन्टरकल्चरल स्टडीजका एसिस्टेन्ट प्रोफेसर ड्यारेन डुएर्कसेनद्वारा लिखित पुस्तक एक्लिजियल आइडेन्टिटिज इन अ मल्टि-फेथ कन्टेक्स्ट, जिजस ट्रुथ-ग्याथरिङ्स (येशु सत्सङ्स) अमङ हिन्दुज एन्ड सिख्स इन नर्थवेस्ट इन्डियाको अनुसार नर्थवेस्ट इन्डियामा तीन किसिमका येशू सत्संगहरू रहेको कुरा उल्लेखित छ। त्यसैगरी जोन जे ट्राभिस र हार्ले तालमानद्वारा सम्पादित पुस्तक अन्डरस्ट्यान्डिङ इन्साइडर मुभमेन्ट्स, डिसाइपल्स अफ जिजस विदिन डाइभर्स रिलिजियस कम्युनिटिजले पनि पन्जावमा रहेका येशू सत्संगहरूको उल्लेख गरेको छ। अनि एलन एल. येह र टाइटे टिएनौद्वारा सम्पादित पुस्तक मेजोरिटी वर्ल्ड थियोलोजिज, थियोलोजाइजिङ फ्रम अफ्रिका, एसिया, ल्याटिन अमेरिका, एन्ड द एन्ड्स अफ द अर्थले पनि उत्तर पश्चिम भारतमा रहेका येशू सत्संगहरूको बारेमा वर्णन गरेको पाइन्छ।
माथि उल्लेखित यी तीनैवटा पुस्तकको अध्ययन गर्दा (नेपाली सहित चार वटा), उत्तर पश्चिम भारत नै सच्चाईको उद्गम स्थल हो भन्दा कति पनि गलत नहुने देखिन्छ। प्रोफेसर ड्यारेन डुएर्कसेनका अनुसार छ जना क्रिस्टियनहरूबाट नै उत्तरपश्चिम भारतमा सच्चाई अर्थात् सत्संगको सुरुवात भयो भनी भन्दछन्।
यसलाई भारतको क्रिस्श्चियानिटीमा एक इन्साइडर मुभमेन्टको रुपमा हेरिएको छ। जब हिन्दु र सिखहरूले सुसमाचार सुन्छन् र येशुमा विश्वास गर्छन् के उनीहरू चर्चनै जानुपर्छ त? के उनीहरूले हिन्दु वा सिख हुँदाखेरि गर्दै आएको अभ्यासहरू गर्न मिल्दैन त? कालो बादल सरी मडारिएका यी र यस्तै प्रश्नहरूबाट उत्तरपश्चिम भारतमा सच्चाई अर्थात् सत्संगको जन्म भएको तथ्य पाइन्छ। जे होस्, सच्चाई समुहहरूले ख्रीष्टियन विश्वासलाई हिन्दु र अन्य धर्मसँग मिश्रण (सिन्क्रेटाइज) गरिरहेका छन् र यिनीहरूलाई "चर्च" को रूपमा पहिचान गर्न सकिँदैन भन्ने कुरामा त्यहाका स्थानीय मण्डलीका अगुवाहरूमा पनि कुनै दुई मत नरहेको प्रष्ट हुन्छ।
अतः नेपालमा भएको सच्चाई केन्द्र नेपालको नाम, उत्तर पश्चिम भारतको येशू सत्संगका विभिन्न समूहहरू अर्थात् सच्चाई समूहहरूसँग मिल्नु (एउटै सच्चाई भन्ने नाम हुनु), र यिनीहरूका अभ्यासहरू साथै शिक्षाहरू पनि मिल्न जानुले यो स्पष्ट हुँदछ कि सच्चाई केन्द्र नेपालको मूल जरा भारतमा रहेको येशू सत्संग नै हो। यी तथ्यहरूले यहि पुष्टि गर्दछ कि गैरे दम्पतिले उत्तरपश्चिम भारतबाटनै सच्चाईलाई नेपाल भित्राएका हुन्। त्यसपछि अन्य व्यक्तिहरूले पनि उत्तरपश्चिम भारतकै येशू सत्संगको कुनै न कुनै समूहबाट प्रेरित भई नेपालका विभिन्न ठाउँहरुमा यस्तो किसिमको शिक्षाको सुरुवात गरेको पाइन्छ।
सच्चाई समूहभित्रको विविधता || Different Types of Sachchai
प्रोफेसर ड्यारेन डुएर्कसेनका अनुसार उत्तरपश्चिम भारतमै पनि येशू सत्संग अर्थात् सच्चाईका तीन मुख्य समूहहरू छन्। पहिलो येशु भक्ति सत्संग, दोस्रो आर्य समाज येशू सत्संग, र तेस्रो सिख येशू सत्संग। यी समूहहरूमध्ये कतिले प्रभुभोज, पानीको बप्तिस्मा जस्ता ख्रीष्टियन विधिहरूको समेत अभ्यास गरेको पाइन्छ भने कतिले भने गर्दैनन्। त्यस बाहेक आफू अनुकुल बाइबलको प्रयोग गर्ने, ख्रीष्टियन गीतहरू जस्तै गीतहरू गाउने, येशूको नाम लिने र प्रार्थना गर्ने कुराहरू त छदैछन्।
यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेकै छ। नेपाल भित्र रहेका सच्चाईहरूमा पनि एकरूपता छैन। सच्चाई केन्द्र नेपाल त आज हामीलाई थाहा भएको सच्चाई समुहहरू मध्यको एक समुह मात्र हो। ठाउँठाउँमा सच्चाईका अन्य समूहहरू पनि छन्। तीमध्ये कतिले आफूलाई सच्चाई भनेर नै चिनाउँछन्, अनि सो सुन्दा हामी तिनीहरूलाई सच्चाई केन्द्र नेपालकै (गैरे दम्पती) समूह भनेर सम्झन्छौ तर उनीहरू फरक समूहका पनि हुनसक्छन्।
त्यसैगरी कतिले चाहिँ आफूलाई छुट्टै नामले पनि चिनाउँछन्ः जस्तै, काठमाडौंमा रहेको सत्यवचन। सत्यवचन भनेर भन्दै गर्दा यो फेरि के हो भनेजस्तो हामीलाई लाग्न सक्छ, तर नझुक्किनुस्, उनीहरू पनि सच्चाईका समूहहरू मध्ये एउटा समूह हो। भारतको पञ्जाबमा पनि सतवचन भन्ने एउटा सच्चाई समूह रहेको कुरा अन्डरस्ट्यान्डिङ इन्साइडर मुभमेन्ट्स, डिसाइपल्स अफ जिजस विदिन डाइभर्स रिलिजियस कम्युनिटिज नामक पुस्तकमा उल्लेखित छ। पञ्जाबी भाषामा सतवचन भनेको सत्यवचन नै हो।
सच्चाई समूहको सुरुवात नै भिन्नभिन्न रूपमा भएको र यसलाई एकरूपता दिने कुनै पनि प्रशासनिक संरचना नभएको कारण त्यहाँ धेरै किसिमका सच्चाई समूहहरू छन्। अनि तिनका फरक फरक नामहरू पनि छन्।
सच्चाई केन्द्र नेपालको अभ्यास तथा क्रियाकलापहरू
सच्चाई केन्द्र नेपालले मुख्यतया गर्दै आएको विविध अभ्यास तथा क्रियाकलापहरु यस प्रकार रहेका छन्ः
साप्ताहिक संगतिहरू गर्ने
सच्चाई केन्द्र नेपालका सदस्यहरू प्रत्येक शनिबार भेटेर सँगै संगति गर्ने गर्दछन्। त्यसबाहेक साप्ताहिक रूपमा अन्य विविध सङ्गतिहरू पनि हुने गर्दछ। जस्तै, प्रत्येक मङ्गलबार हुने प्रार्थना संगति।
भजन गित हरू
उनीहरूको संगतिमा भजनहरू पनि गाइन्छ, जुन भजनहरु प्रकाशदिप गैरे र सुशीला गैरे द्वारा लिखित लोकभाका भजन गीतहरु हुन्छन्। त्यसैगरी अन्य लिडरहरूद्वारा रचिएका भजन गीतहरू पनि गाइन्छन्। त्यस्ता भजन गीतहररूमा परमेश्वर पिता, ईश्वर, परम आत्मा, येशु मसी जस्ता शब्दहरूको प्रयोग भएको पाइन्छ।
गवाही बाड्ने
सच्चाई केन्द्र नेपालका सदस्यहरू उनीहरूको भेलामा गवाही बाँड्ने काम गर्दछन्। त्यसबखत सच्चाईमा आएपछि उनीहरू कसरी रोग बिरामीबाट निको भए, कसरी शान्ति पाए आदि कुराहरू गर्छन्। यसरी नै उनीहरूले धेरैलाई आफ्नो समूहमा खिच्ने काम गर्दछन्।
प्रचार गर्ने
सच्चाईहरू सामूहिक रूपमा भेटेर गरिने संगतिमा र घरघर पुगेर पनि प्रचार गर्ने गर्दछन्। त्यसरी प्रचार गर्दा प्रचारकले बाइबलको पदहरूलाई पनि बेलाबेलामा जोड्ने गरेको पाइन्छ। उनीहरूसँग बाइबलको व्याख्या गर्ने कुनै पनि विधि वा तरिका हुँदैन, तर पदहरूलाई आफू अनुकूल व्याख्या तथा प्रचार गर्ने गर्दछन्। उनीहरूका प्रचारहरूमा विशेषगरी नयाँ करारका पदहरू सामेल गरिएका हुन्छन्।
प्रार्थना तथा चङ्गाइ
सच्चाई केन्द्र नेपालका सदस्यहरू प्रार्थना गर्ने गर्दछन्। उनीहरू अन्य भाषामा प्रार्थना गर्ने भन्दै अनौठा उच्चारणहरू गर्दै प्रार्थना गरेको पनि पाउँदछौं। विशेषगरी रोगी बिरामीहरूलाई निको पार्नको लागि गरिने प्रार्थना, दुष्ट आत्मा लागेकाहरूलाई त्यसबाट छुटकारा दिएर निको बनाउनको लागि गरिने प्रार्थनाको अभ्यास सच्चाई समूहले गर्दै आएको छ। यसरी प्रार्थना गर्दा धेरैजना निको भएको भन्ने दाबी उनीहरू गर्दछन्। सो कुरा हामीले उनीहरूको गवाहीमा पनि सुन्न सक्दछौं।
येशू, पिता, परमेश्वर, परमात्मा, ईश्वर आदि नामको प्रयोग
विशेषगरी सच्चाई केन्द्र नेपालले येशू मसीमा उद्धार छ, हामीले चङ्गाइ पाउँछौँ लगायतका कुराहरू प्रचार गर्छन्। येशूमा नै उद्धार छ भन्ने प्रचार सबै सच्चाई समूहहरूले गर्छन् नै भन्ने चाहिँ छैन। बिभिन्न सच्चाई समूहहरूले ईश्वर, पिता, परमेश्वर, परमात्मा आदि मध्य केही तथा सबैको प्रयोग गरेको पाउदछौं।
सच्चाईका सदस्यहरूलाई बाइबल पढ्न रोक
सच्चाईका सदस्यहरूलाई बाइबल पढ्नको लागि रोक लगाइन्छ। पढ्न दिए तापनि उनीहरूले भनेको पदहरू मात्र पढ्न भनी कडा निर्देशन दिइन्छन्।
लिडरहरूलाई गरिने सम्बोधन
सच्चाई समूहमा लिडरहरूलाई प्रायजसो सर, म्याडम भनेर बोलाइने गरिन्छ। उत्तर पश्चिम भारतको केही सच्चाई समूहहरूले आफ्ना लिडरहरूलाई पास्टर भन्ने गरेको भए तापनि त्यो अभ्यास नेपालमा भने कुनै पनि सच्चाई समूहहरुले आजसम्म गरेको पाइँदैन।
सबै धार्मिक अभ्यासहरूको लागि खुल्ला
सच्चाई समूहका सदस्यहरूलाई कुनै पनि धार्मिक अभ्यासहरू गर्नको लागि रोक लगाइँदैन। उनीहरू टीका लगाउने, सिन्दुर लगाउने, जन्मदा, विवाह गर्दा, वा मृत्यु हुँदा आफूले पहिला गर्दै आएको सम्पूर्ण धार्मिक अभ्यासहरु खुल्ला रुपमा गर्न पाउँदछन्।
सबै धर्महरूलाई समेट्ने चेष्टा
सच्चाई केन्द्र नेपाल आफ्नो नारा नै “हिमाल पहाड तराई कोही छैन पराई सबैलाई समेट्ने एकमात्र सच्चाई” भनी भन्ने गरेको छ। उनीहरू सच्चाइ सबै धर्महरू अटाउने ठाउँ हो भनी भन्दछन्। बेलाबखतमा आफ्ना कार्यक्रमहरूमा सरकारी पदाधिकारीहरू बोलाउने र उनीहरूलाई सच्चाई सबै धर्मलाई समेट्ने, धार्मिक सहिष्णुता कायम राख्ने संस्था हो लगायतका कुराहरू भन्ने गर्दछन्। उनीहरूको समूहमा आबद्ध हुन आउने सदस्यहरूलाई कुनै पनि धार्मिक क्रियाकलापहरूको अभ्यास गर्नबाट रोक नलगाउनुले पनि यो कुरालाई पुष्टि गर्दछ कि सच्चाइले सबै धर्मलाई समेट्ने चेष्टा अवश्य गर्दछ।
के सच्चाई र ख्रीष्टियनहरू एउटै हुन्? Sachchai and Christian
के सच्चाई र ख्रीष्टियनहरू एकै हुन्? अर्थात् के सच्चाईहरू पनि ख्रीष्टियन हुन्? हामीले यो प्रश्नको सर्वमान्य जवाफ पाउन सक्दैन। यसको जवाफ तपाईंले यो प्रश्न कसलाई सोध्नुहुन्छ भन्नेमा निहित हुन्छ। मैले सुरुमै उल्लेख गरेजस्तै यदि यो प्रश्न गैर-ख्रीष्टियन समुदायका मानिसहरूलाई सोध्नुहुन्छ भने उनीहरूको जवाफ हुन्छः हो सच्चाईहरू ख्रीष्टियन हुन्। तर यदि यही प्रश्न तपाईँले ख्रीष्टियनहरूलाई कि सच्चाई समूहका मानिसहरूलाई सोध्नुहुन्छ भने उनीहरूको जवाफ हुन्छः होइन, सच्चाईहरू चाहिँ ख्रीष्टियनहरू होइनन्।
हामीले सच्चाईको इतिहासलाई हेर्दा यो समूह ख्रीष्टियानहरूद्वारा नै सुरुवात भएको केहि आधारहरू पाए तापनि, यसकै उद्गम स्थलका ख्रीष्टियन चर्चहरूले समेत यस समूहलाई ख्रीष्टियन हुन् भनी अस्वीकार गरेको र नेपालमै रहेका सच्चाई समूहका प्रचार तथा गतिविधिहरूलाई हेर्दा पनि त्यसमा बाइबलीय सत्यताहरू तथा ख्रीष्टियन सैद्धान्तिक पक्षहरूलाई अवलम्बन नगरेको कारण नेपाली चर्चहरूले पनि यसलाई कदापि ख्रीष्टियन समूहको रूपमा मान्यता दिने छैन।
अर्कोतिर भने, यस समूहमा ख्रीष्टियन अभ्यासहरूको प्रभाव स्पष्ट रुपमा देखिएको कारण गैर-ख्रीष्टियन समाजले यसलाई ख्रीष्टियनहरूकै रुपमा देख्नुको विकल्प पाउँदैनन्। बरु कति धार्मिक अतिवादीहरूले त यसलाई उनीहरूको धर्म सिध्याउन ख्रीष्टियनहरूले अपनाएको एक खतरनाक रणनीतिको रूपमा व्याख्या गरिरहेका छन्। त्यसैले सच्चाई समूह नेपाली समाजमा आफूले सोचेको आफ्नो पहिचान स्थापित गराउन सङ्घर्षरत त छँदैछ, यो समूह ख्रीष्टियनहरू प्रति गैर ख्रीष्टियन समुदायमा भ्रम फैलाउनमा पनि उत्तिकै जिम्मेवार छ।
नेपालमा सच्चाईको प्रभाव
सच्चाई केन्द्र नेपालका संस्थापक प्रकाश दीप गैरेले आज भन्दा धेरै वर्ष अगाडि नै नेपालमा आफ्ना सदस्यहरू असी लाख भएको भन्दै बिभिन्न सामाजिक संजाल मार्फत धेरै पटक भनेका थिए। त्यहि अनुपातमा हिसाब गर्ने हो भने आजको दिन सम्ममा त दुई करोड भन्दा धेरै सदस्य सङ्ख्या पुगिसक्नु पर्ने हो। यो प्रचार कदापि सत्य होइन भन्ने कुरा हिजो पनि स्पष्ट थियो र आज पनि। तर जे होस्, यो समुह नेपालमा तीब्र रुपमा बढीको कुरामा भने कुनै दुई मत नहोला।
नेपालको स्थितिलाई नियाल्दा विशेषगरी महिला सच्चाई समूह प्रति धेरै आकर्षित छन्। जहाँ सच्चाईको भेलाहरू हुन्छ त्यहाँ पुरूषहरूको तुलनामा महिलाहरूको जनसङ्ख्या अत्याधिक देख्न सकिन्छ। संयुक्त राज्य अमेरिकाको एक विश्व विद्यालयबाट आफ्नो पि. एच. डि. थेसिसको क्रममा सच्चाई समुहको बारेमा अमर वि.क. द्वारा गरिएको रिसर्चले पनि यो कुरा पुष्टि गर्दछ भनी केही वर्ष पहिले एक युट्युब च्यानललाई उनले दिएको अन्तरवार्तामा उल्लेख गरिएको छ।
हाल शहरबजार क्षेत्रमा मात्र नभएर गाँउ-घर सम्म पनि सच्चाई समुहहरू पुगि सकेका छन्। सच्चाईमा जादा पनि आफूले गर्दै आएको अन्य धार्मिक गतिविधिहरू निरन्तर गर्न पाउने, आफू खुसी जीवन जिउन पाउने, चंगाई पनि पाउने आदि कुराले गर्दा मानिसहरूलाई यस समुहले चाँडैनै आकर्षित गरिरहेकोछ।
मानसिक स्वास्थ्यको दृष्टिकोण बाट हेर्ने हो भने, धेरै हद सम्म सच्चाई समूहमा आबद्ध मानिसहरूलाई यसले सकारात्मक असर पारेको छ। प्राय जहिल्यै काममा मात्र व्यस्त रहने, विश्राम र मनोरञ्जनमा त्यति ध्यान नदिने, विशेष गरी सधैँ घरयासी कामहरूमा व्यस्त हुनु पर्ने बाध्यताले आराम र मनोरञ्जन, संगती तथा भेटघाट कुराकानी जस्तो मानसिक स्वास्थ्यको लागि अपरिहार्य कुराहरूबाट उपेक्षित समुहहरूलाई सच्चाईले साँच्चिकै ठुलो राहत प्रदान गरेको देखिन्छ। साप्ताहिक रूपमा हुने कार्यक्रम तथा संगतिहरूले यी आवश्यकताहरूलाई धेरै हद सम्म सम्बोधन गरेको देखिन्छ।
अब ख्रीष्टियन दृष्टिकोणबाट हेर्ने हो भने सच्चाईले मानिसहरूलाई साचोँ सुसमाचार ग्रहण गर्नमा ठुलै बाधा खडा गरेको छ भन्नु पर्दछ। किनकि आज सम्म पनि नेपाली समाजमा धेरैजसो व्यक्तिहरू ख्रिष्टियन भएपछि मेरो रोग निको हुन्छ भनेर चर्च आउछन र साचोँ सुसमाचारलाई बुज्दै जान्छन। धेरै जनाले चंगाई जस्तो परमेश्वरको आश्चर्य कर्म अनुभव गरेर वा देखेर नै चर्च आएका र बिस्तारै साचोँ सुसमाचार ग्रहण गरेका छन्। तर अब त सच्चाईमा गयो भने शान्ति, आनन्द, चंगाई सबै पाइहाल्छ अनि अरु भनेको सबै पुरानै तरिकाले चल्दा भइहाल्छ भन्ने सच्चाईको प्रचारले ख्रिष्टको साचोँ सुसमाचार मानिसहरू सम्म पुर्याउने बाटोमा तगारो लगाइदिएको छ।
तर अर्को तिर भने फेरी कति सच्चाईमा गएकाहरू पछि साचोँ ख्रिष्टियन विश्वासमा आएका पनि छन्, कति त पास्टरिय सेवकाईमा पनि रहेको भनि लेखक द्वय आशिष सिन्हा र रोहित ढकालले आफ्नो पुस्तकमा उदाहरण हरू प्रस्तुत गरेका छन्। वास्तवमै साचोँ ख्रीष्टियन विश्वास बाट सच्चाईमा गएको उदाहरण त बिरलै होला, तर सच्चाईमा गएकाहरू साचोँ ख्रीष्टियन विश्वासमा आएको घटनाहरू पछिल्लो समय सामाजिक संजालहरूमा पनि धेरै देखिन थालेका छन्।
जब नेपालको शहर-शहर र गाउँ बस्तिहरूमा सच्चाई छिर्न थाल्यो, यसले समाजमा ख्रिष्टियनहरूको साँचो पहिचानलाई भने नराम्ररी धमिल्याइदिएको कुरो चाहिँ साँचो हो। सच्चाईलाई पनि मानिसहरूले ख्रीष्टियनहरू नै भनेर गलत तवरले बुझे र अब त टिका लगाउने, दशै मान्ने, देउसी भैलो खेल्ने ख्रीष्टियनहरू आएछन भन्न थाले। यसरी ख्रीष्टियनहरूको साचोँ पहिचानमा सच्चाई समुहको बाँदल मढारिँदै गईरहेको छ।
अन्तमा
सचाई केन्द नेपाल लगाएत नेपालमा सक्रिय रहेका सच्चाईका अन्य समुहहरू जति छन्, ती उत्तरपश्चिम भारत बाट नै नेपाल भित्रिएकोमा कुनै शंका छैन। ख्रीष्टियन र गैर-ख्रीष्टियन समुदायले यसलाई फरकफरक तरिकाले चिन्नु र आफैले फेरी समाजमा नौलो पहिचान बनाउन खोज्नुले सङ्ख्यात्मक रुपमा बढ्दै गएको भएतापनि सच्चाईले नेपालमा सर्वमान्य पहिचान स्थापित गर्न भने सकिरहेको अवस्था छैन। तर जे भएतापनि नेपाली समुदायले यो सत्य कुरा पक्का गरी बुझनु पर्दछ कि सच्चाईहरूले केही ख्रीष्टियन अभ्यासहरूको नक्कल गर्ने प्रयास गर्दैमा यिनीहरू पनि ख्रीष्टियन पो रहेछन भन्ने भ्रममा पर्नु हुदैन। सच्चाईहरूको व्यवहारिक र सिद्धान्तगत पक्षहरूलाई केलाउदा यो प्रष्ट हुन्छ कि यस समुह र ख्रीष्टियनहरू विपरित धुर्वमा पर्दछन्।
[आशा छ यस लेखले सच्चाई सम्बन्धी तपाईँको हृदयमा भएको अन्योलहरुलाई धेरै हदसम्म प्रस्ट्याएको छ। आजको यस सामग्री तपाईंलाई कस्तो लाग्यो कृपया तलको कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिनुहोला। सच्चाई सम्बन्धी वा क्रिस्टियन जगतको जुनसुकै विषयमा तपाईँका प्रश्नहरू छन् भने पनि कृपया कमेन्टमा लेख्नुहोस्। हामी त्यसको उचित सम्बोधन गर्ने भरमग्दुर प्रयत्न गर्नेछ। धन्यवाद।]
Post a Comment