महिला ख्रीष्ट बारे सिकाउने सर्वशक्तिमान परमेश्वरको मण्डली || The Church of Almighty God in Nepal

Church of Almighty God in Nepal

सर्वशक्तिमान परमेश्वरको मण्डली; झट्ट सुन्दा राम्रो नाम र साँचो शिक्षा जस्तै लाग्ने यस समूहको भित्री रहस्य जब तपाईँले बुझ्नुहुन्छ त्यो तपाईंको कल्पना भन्दा बाहिरको कुरा हुनआउनेछ। येशू ख्रीष्टको दोस्रो आगमन महिलाको रूपमा चीनमा भयो भनी सिकाउने यो झुटो शिक्षा पूर्वीय बिजुलीको नामले पनि परिचित छ। यो झुटो शिक्षा विभिन्न स्वरूपमा आउने भएको कारण कतिपटक यसलाई सहजै पहिचान गर्न जो कोहीलाई निकैनै कठिन हुन्छ। अनलाइनकै माध्यमबाट नेपाली मण्डलीभित्र छिरेको यस झुटो शिक्षाको विषयमा नेपाली विश्वासीहरूलाई राम्रो ज्ञान नहुँदा धेरै जना यसको प्रत्यक्ष सिकार बनिरहेका छन्। त्यसैले प्रत्येक नेपाली विश्वासी यस झुटो शिक्षाको विषयमा जानकार हुन अत्यन्त आवश्यक छ। यो लेख पढिसकेपछि यो झुटो शिक्षा जुनसुकै स्वरूपमा  आए पनि तपाईंले त्यसलाई सहजै पहिचान गर्नुहुनेछ र आफू, आफ्नो परिवार र मण्डलीलाई पनि यस बाट बचाउन सक्नुहुनेछ। 

सर्वशक्तिमान परमेश्वरको मण्डलीको सुरुवात कहाँबाट र कसरी भयो?

सर्वशक्तिमान परमेश्वरको मण्डलीको जन्म सन् १९९१ मा चिनमा भएको हो। झाओ विशान (Zhao Wishan) नाम गरेको चिनियाँ नागरिक यसको संस्थापक हुन्। सन् १९५१ मा जन्मेका जाओ पेशागत रूपमा एक शिक्षक (physics teacher) थिए। जब सन् १९९१ मा याङ सियांगबिन (Yang Xiangbin) नाम गरेकी एक महिलासँग उनको भेट भयो, उनले आफ्नो श्रीमतीसँग सम्बन्ध विच्छेद गरे र तत्कालै  याङ सियांगबिन (Yang Xiangbin) सँग विवाह गरे। त्यति मात्रै होइन उनले आफ्नो नवविवाहित श्रीमती याङ सियांगबिन (Yang Xiangbin) नै येशु खीष्ट को दोस्रो आगमन हो भनी प्रचार गर्न थाले। 

याङ सियांगबिनको (Yang Xiangbin) जन्म भने सन् १९७३ मा भएको थियो। उमेरले भर्खरै २३ वर्ष मात्र पुगेकी याङ, झाओसँग विवाह गर्न भन्दा अगाडि बाट नै गम्भीर मानसिक समस्याको सिकार बनिसकेकी थीइन्। विश्वविद्यालय अध्ययनको निम्ति दिइने प्रवेश परीक्षामा अनुतीर्ण भए पछिको मानसिक तनावले याङलाई सिजोफ्रेनिया (schizophrenia) भन्ने गम्भीर मानसिक समस्यातर्फ धकेल्यो। सिजोफ्रेनिया एउटा यस्तो गम्भीर मानसिक समस्या हो जसको कारण व्यक्तिले काल्पनिक र वास्तविक कुराको बीचमा भिन्नता छुट्याउन सक्दैन, र  उसको लागि आफ्नो कल्पनाको कुराहरू नै वास्तविक हुदछन्। जब कुनै व्यक्ति त्यस्तो समस्यामा पुग्दछ, यसलाई केही हदसम्म रोकथाम गर्नु बाहेक उसले पूर्णरूपमा यसबाट कहिले पनि छुटकारा पाउन सक्दैन (अर्थात सिजोफ्रेनिया निको पार्ने कुनै उपचार आजसम्म पत्ता लागेको छैन)। 

उनै याङ सियांगबिनको (Yang Xiangbin), जो सिजोफ्रेनिया (schizophrenia) बाट पीडित थिइन् (र छिन्), सन् १९९१ मा उनले आफू ख्रीष्टको दोस्रो आगमन भएको दाबी गरिन्। त्यसको लगत्तै उनको श्रीमान झाओ विशानले (Zhao Wishan) यो कुराको व्यापक प्रचारप्रसार गर्न थाले। यही बिन्दुबाट सर्वशक्तिमान परमेश्वरको मण्डली नामक यस खतरनाक झुटो शिक्षाको सुरुवात भयो। 

सर्वशक्तिमान परमेश्वरको मण्डलीले के कस्ता शिक्षाहरू दिन्छ? 

सर्वशक्तिमान परमेश्वरको मण्डलीले मत्ती २४ः२७ लाई आफ्नो शिक्षाको आधार मान्ने गर्दछ, जहाँ येशू ख्रीष्टले आफ्नो दोस्रो आगमनको विषयमा यसो भन्नुहुन्छ, “किनकि जसरी बिजुली पूर्वबाट चम्‍कँदा पश्‍चिमसम्‍मै उज्‍यालो हुन्‍छ, त्यसरी नै मानिसको पुत्रको आगमन हुनेछ।” उनीहरूले यस पदलाई यसरी व्याख्या गर्दछन्, “बिजुली पूर्वबाट  चम्कँदा भन्नुको मतलब चाहिँ येशू ख्रीष्टको दोस्रो आगमन पूर्वमा हुन्छ भनेको हो। अनि पूर्व भनेको चाहिँ चीन देश हो। त्यसैले येशू ख्रीष्टको दोस्रो आगमन महिलाको रूपमा चीन देशमा भएको छ, जो  याङ सियांगबिनको (Yang Xiangbin) हुन्। र ‘पश्‍चिमसम्‍मै उज्‍यालो हुन्‍छ’ भनेको मतलब चाहिँ यो कुरा अब पश्चिम सम्मै फैलँदै जानुपर्छ भनेको हो भनी उनीहरू सिकाउछन्। यसबाहेक अन्य धेरै खतरनाक झुटो सिद्धान्तहरू उनीहरूले सिकाउने गर्दछन्। ती शिक्षा तथा सिद्धान्तहरूलाई हामी क्रमैसँग हेर्दै जानेछौँ। 

परमेश्वरको ३ काल (समय), ३ नाम, र ३ कामहरू

सर्वशक्तिमान परमेश्वरको मण्डलीले सिकाउने तीन कालखण्ड र परमेश्वरको तीन नामहरू अनि तिन नामहरू यस प्रकार रहेका छन्ः

पहिलो, व्यवस्थाको  कालखण्ड (समय)। उनीहरूका अनुसार व्यवस्थाको समय भनेको पुरानो करारको समय हो। अनि यो समयमा परमेश्वरको नाम यहोवा थियो। यहोवा परमेश्वरले व्यवस्था दिनुभयो र यो पुरानो करारको समयको लागि मात्र थियो। यसको मतलब आजको समयमा पुरानो करारको कुनै काम छैन। 

दोस्रो, अनुग्रहको कालखण्ड (समय) हो। उनीहरूका अनुसार, अनुग्रहको समय येशू ख्रीष्टको जन्मबाट सुरुवात भयो र सन् १९७३ मा याङ साङबिनको (Yang Xiangbin) जन्मसँगै यो समयको अन्त भयो। अनुग्रहको समयमा परमेश्वर  येशू ख्रीष्टको रूपमा प्रकट हुनुभयो। त्यसैले यो कालखण्डको लागि परमेश्वरको नाम चाहिँ येशू हो जो हाम्रो पाप क्षमाको लागि बलिदान हुन आउनुभयो।

तेस्रो कालखण्ड भनेको राज्यको समय हो। सन् १९७३ मा याङ सियांगबिनको (Yang Xiangbin) जन्मसँगै यो समयको सुरुवात भएको छ र आज पनि निरन्तर अगाडि बढिरहेको छ। जसरी अनुग्रहको समयमा परमेश्वर पुरुष भएर येशू ख्रीष्टको रूपमा प्रकट हुनुभयो, त्यसैगरी राज्यको यस समयमा परमेश्वर महिला भएर याङ सियांगबिनको (Yang Xiangbin) रूपमा प्रकट हुनुभएको छ। राज्यको यस समयमा परमेश्वरको नाम चाहिँ सर्वशक्तिमान परमेश्वर हो, अनि याङ सियांगबिन (Yang Xiangbin) नै त्यो सर्वशक्तिमान परमेश्वर हुन्।

सर्वशक्तिमान परमेश्वरको मण्डलीको शिक्षा अनुसार, व्यवस्थाको समयमा यहोवा परमेश्वरले व्यवस्था दिन आउनुभयो, अनुग्रहको समयमा येशू ख्रीष्ट परमेश्वर हामीलाई बचाउनको लागि पवित्र बलिदान हुन आउनु भयो, अनि राज्यको समयमा सर्वशक्तिमान परमेश्वर न्याय गर्नको लागि आउनुभएको छ।

ख्रीष्टको दोस्रो आगमनबारे सर्वशक्तिमान परमेश्वरको मण्डलीको शिक्षा


सर्वशक्तिमान परमेश्वरको मण्डलीको शिक्षा अनुसार, ख्रीष्टको दोस्रो आगमन भनेको ख्रीष्टको आत्मा कुनै मानिसमाथि आउनु हो। अझ उनीहरू यसो पनि भन्ने गर्दछन्, येशू ख्रीष्टको मामिलामा पनि यही कुरा लागु हुन्छ। जबसम्म  येशू ख्रीष्टले संसारमा सेवकाईको सुरुवात गर्नुभएको थिएन, तबसम्म उहाँ एक मानिस मात्र हुनुहुन्थ्यो। जब उहाँको मानवीय शरीरमा परमेश्वरको आत्मा आउनुभयो र सेवकार्यको सुरुवात गर्नुभयो त्यसपछि मात्र येशू ख्रीष्ट परमेश्वर हुनुभयो।


त्यसैगरी, याङ सियांगबिन (Yang Xiangbin) पनी  सन् १९९१ भन्दा अगाडि सम्म साधारण व्यक्ति थिइन्। तर जब सन् १९९१ मा परमेश्वरको आत्मा उनी माथि आउनुभयो, त्यसपछि उनी सर्वशक्तिमान परमेश्वर बनिन् र यो नै येशू ख्रीष्टको दोस्रो आगमन हो। 

ख्रीष्टको दोस्रो आगमन किन चीनमा नै हुनुपर्यो त?

सर्वशक्तिमान परमेश्वरको मण्डली यो विश्वास गर्दछ कि येशू ख्रीष्टद्वारा मुक्तिको काम पुरा भएको थिएन। त्यसैले मानिसको मुक्तिको काम पूरा गर्नको लागि ख्रीष्टको दोस्रो आगमन चीनमा हुन जरुरी थियो।


त्यसोभए यो पूरा हुन बाँकी मुक्तिको काम चाहिँ के हो त? सर्वशक्तिमान परमेश्वरको मण्डलीको शिक्षा अनुसार यो काम भनेको न्यायको काम हो। उनीहरू १ पत्रुस ४ः१७ लाई उदृत गर्दछन् कि, “किनभने न्‍याय परमेश्‍वरकै परिवारबाट सुरु हुने समय आएको छ…।” अनि यो न्यायको काम गर्न ख्रीष्ट दोस्रोपटक महिलाको रुपमा चीन देशमा आउनुभएको हो। 


पत्रुसले उल्लेख गरेअनुसार न्याय परमेश्वरकै परिवारबाट अर्थात् ख्रीष्टियनहरू बाट नै सुरुवात हुँदछ। त्यसैले मण्डलीले (ख्रीष्टियनहरूले) याङ सियांगबिनलाई (Yang Xiangbin) ख्रीष्टको दोस्रो आगमनको रूपमा स्वीकार गर्नैपर्छ, अन्यथा उनीहरू न्यायमा पर्नेछन्। जस-जसले आफूलाई विश्वासी त भन्छन् तर याङ सियांगबिनलाई ख्रीष्टको दोस्रो आगमनको रूपमा स्वीकार गर्दैनन् भने उनीहरु दोषी हुन्। त्यस्ता व्यक्तिहरू उपर हामीले न्याय गर्नैपर्छ भन्ने धारणा उनीहरूको छ। त्यसैकारण उनीहरूको शिक्षा स्वीकार नगर्ने जो कोहीलाई पनि उनीहरू भौतिक आक्रमण गर्न र मार्नसम्म पनि पछि पर्दैनन्। 

धर्मशास्त्र सम्बन्धी सर्वशक्तिमान परमेश्वरको मण्डलीको शिक्षा 

सर्वशक्तिमान परमेश्वरको मण्डलीले यसो भनी सिकाउने गर्दछः  पुरानो र नयाँ करार बाइबल मुक्तिको लागि पर्याप्त छैन। यिनीहरू त धर्मशास्त्रको एक अपूर्ण खण्डहरू मात्र हुन्, जुन निश्चित समयको लागि मात्र दिइएको थियो। पुरानो करार व्यवस्थाको समयको लागि मात्र दिइएको थियो,  त्यसैगरी नयाँ करार अनुग्रहको समयको लागि मात्र। त्यसैले बाइबलको यी दुवै खण्डहरू म्याद सकिसकेका कागजी खोस्टोहरू मात्र हुन् जसको आज कुनै काम छैन।

त्यसैकारण न्यायको यस समयको लागि हामीलाई सर्वशक्तिमान परमेश्वर, याङ सियांगबिनले नयाँ वचन (बाइबल) दिनुभएको छ। यो नयाँ बाइबलको नाम चाहिँ “वचन देहमा प्रकट हुनुहुन्छ” (The Word Appears in the Flesh) हो। वचन देहमा प्रकट हुनुहुन्छ भन्ने यो पुस्तक सर्वशक्तिमान परमेश्वर, याङ सियांगबिनको (Yang Xiangbin) वचनहरू हुन् र यो नै न्यायको समयको लागि परमेश्वरको धर्मशास्त्र हो भनी उनीहरू भन्ने गर्दछन्। यस बाहेक, याङ सियांगबिन (Yang Xiangbin) द्वारा लेखिएका भनिएका ३० भन्दा धेरै अन्य पुस्तकहरू छन्, र तिनीहरूलाई पनि परमेश्वरको वचन भनी धर्मशास्त्रको मान्यता दिइन्छ। 

उनीहरू यो कुरामा जोड दिने गर्दछन् कि महिलाको रूपमा चिनमा दोस्रोपटक आउनुभएको ख्रीष्ट अर्थात् सर्वशक्तिमान परमेश्वर याङ सियांगबिन (Yang Xiangbin)आफ्नो वचनहरूद्वारा काम गर्नुहुन्छ। त्यसैले प्रत्येक मण्डलीले पुरानो र नयाँ करारको बाइबललाई छोडेर याङ सियांगबिनको (Yang Xiangbin) वचनहरूलाई स्वीकार गर्नुपर्दछ। 

चीनको कम्युनिस्ट शासक: ठूलो रातो अजिङ्गर हो

बाइबलमा उल्लेख गरिएको ख्रीष्ट विरोधी चाहिँ चीनको कम्युनिस्ट शासक हो भनी सर्वशक्तिमान परमेश्वरको मण्डलीले  भन्ने गर्दछ। यसको मुख्य कारण भनेको चिनिया सरकारले यस समूहलाई एक गैरकानुनी समूहको रूपमा लिएको छ र त्यहाँ उनीहरूमाथि चरम सतावट भएको छ। त्यसकारण प्रकाश १२ः३ लाई औल्याउँदै उनीहरू यसो भन्दछन् कि त्यो ठूलो रातो अजिङ्गर भनी चीनको कम्युनिस्ट सरकारलाई भनेको हो।

सर्वशक्तिमान परमेश्वरको मण्डलीको क्रियाकलापहरू

सर्वशक्तिमान परमेश्वरको मण्डलीले आफ्नो शिक्षालाई विश्वभरि फैलाइरहेको छ। उनीहरूका कामहरू निकै चलाखीपूर्ण छन्, जसद्वारा उनीहरू जो कोहीलाई सहजै आफ्नो फन्दामा पार्न सक्छन्। उनीहरूले के कसरी काम गर्दछन् भनी हामीले जान्यौँ भने अवश्य पनि हामी यस झुटो शिक्षाबाट आफू र आफ्नो परिवारलाई बचाउन सक्नेछौँ। त्यसैले, उनीहरूका मुख्य क्रियाकलापहरूलाई हेरौंः

सिनेमा तथा ए.आई. (AI) भिडियोहरूको व्यापक प्रयोग 

सर्वशक्तिमान परमेश्वरको मण्डलीले सतावट तथा दुःख कष्ट सम्बन्धी निकै नै भावुक तथा मार्मिक सिनेमाहरूको निर्माण गरेको छ र यसलाई विश्वको विभिन्न भाषाहरुमा अनुवाद गरी सामाजिक सञ्जाल तथा अन्य अनलाईनको माध्यमद्वारा प्रत्येक ख्रीष्टियन कहाँ पुर्‍याउन खुबै चेष्टा गरीरहेको छ। त्यतिमात्र नभएर, पछिल्लो समय ए.आइ.को विकाससँगै विभिन्न घटना परिघटनाहरूलाई लिएर भ्रामक भिडियोहरू बनाई सामाजिक सञ्जालद्वारा व्यापक रूपमा फैलाइरहेका छन्। कुनै पनि ठाउँमा जब कुनै प्राकृतिक विपत्ति या त ठूला दुर्घटनाहरू हुन्छन्, सर्वशक्तिमान परमेश्वरको मण्डलीले त्यस्ता घटनाहरूलाई ए.आइ.को प्रयोग गरी डिप फेक भिडियोहरू बनाउने गर्दछन्। हामीले फेसबुक लगायत सामाजिक सञ्जालहरूमा देखेका भिडियोहरू पनि यस्तै भिडियोहरू हुन्। जस्तै कहीँ भुइँचालो गयो र घरहरू भत्किए भने त्यसको डिप फेक भिडियो बनाई परमेश्वरले हामीलाई विपत्तिबाट बचाउनुहुन्छ, आमेन लेख्नुहोस् जस्ता भिडियोहरू तथा फोटोहरू हामीहरू देख्न सक्छौं। अमेरिकाको आगलागीमा पुरै सहर जलेर नष्ट हुँदा ख्रीष्टियनको घर चाहिँ जलेन, परमेश्वरले बचाउनुभयो, भनी पुरानो घटनाका फोटोहरू राखी फेसबुकमा अफवाह फैलाउने समूह पनि यही सर्वशक्तिमान परमेश्वरको मण्डली हो। 

काम तथा पैसाको प्रलोभन 

यस झुटो शिक्षाको समूहले ख्रीष्टियनहरुलाई फेसबुक मेसेन्जर तथा व्हाट्सएप लगायतका अन्य सामाजिक सञ्जालको माध्यमबाट सम्पर्क गरी जागिर तथा पैसाको प्रलोभन देखाउने गर्दछन्। उनीहरूले सिधै नै तपाईँ के काम गर्नुहुन्छ? तपाईंको काम छ कि छैन? के हामीसँग काम गर्न चाहनुहुन्छ? जस्ता प्रश्नहरू सोध्ने गर्दछन् र आफ्नो समूहमा आबद्ध भएर काम गरेबापत पैसा दिने भनी प्रलोभनमा पार्ने गर्दछन्।

फेसबुक मेसेन्जर तथा व्हाट्सएप ग्रुपहरू 

सर्वशक्तिमान परमेश्वरको मण्डलीले ख्रीष्टियनहरूलाई उनीहरूको फेसबुक मेसेन्जर तथा व्हाट्सएप ग्रुपहरूमा जोड्ने गर्दछन्। त्यस्ता ग्रुपहरूमा उनीहरूले प्रत्येक दिन निश्चित समय तोकेर नै बाइबल अध्ययन वा तालिम भनी लाइभ कलद्वारा उनीहरूको शिक्षा दिने गर्दछन्। 

सामाजिक सञ्जालमा बाइबल तालिमको प्रचारप्रसार 

यस समूहले फेसबुक लगायतको सामाजिक सञ्जाल मार्फत बाइबल तालिमको अवसर भन्दै विभिन्न खाले प्रचारप्रसारहरू गर्दै आइरहेका छन्। यस्ता प्रचारप्रसारहरू उनीहरूले फेसबुकको विज्ञापन प्रविधि मार्फत पैसा तिरेर नै गरेको पनि पाइएको छ। यसरी फेसबुकलाई पैसा तिरेर नेपाल तथा नेपाली ख्रीष्टियनहरू लक्षित  उनीहरूले गरेको प्रचारप्रसार हाम्रो मोबाइल सम्मै आइपुग्दछ र फलस्वरूप यस सम्बन्धी ज्ञान नभएका धेरै विश्वासीहरू त्यस्ता तालिमहरूमा जोडिएर यस झुटो शिक्षाको सिकार बनेका छन्। 

आफ्नो शिक्षा स्वीकार गर्न लगाउन जुनसुकै हदसम्म जाने 

सर्वशक्तिमान परमेश्वरको मण्डली ख्रीष्टियनहरूलाई आफ्नो शिक्षा स्वीकार गर्न लगाउन जुनसुकै हदसम्म जाने गर्दछ। यदि उनीहरूको शिक्षा स्वीकार गरेन भने उनीहरूले त्यस व्यक्तिलाई मार्न पनि पछि पर्दैनन्। उनीहरूको शिक्षा स्वीकार नगर्ने विश्वासीहरूलाई कसैको कान काटिदिएको, कसैको नाक काटिदिएको, कसैको हातखुट्‍टा भाँचिदिएको, र कति जना उनीहरूद्वारा बलात्कार र यौन हिंसाको सिकार भएको भन्ने समाचारहरू व्यापक रूपमा आएका भए तापनि ती घटनाहरूको स्पष्ट प्रमाणहरू जुट्न सकिरहेको अवस्था थिएन। तर सन् २०१४ मा आफ्नो शिक्षा स्वीकार नगरेको भनि रेस्टुरेन्टमा एक जना व्यक्तिको कुटपिट गरी हत्या गरेको भिडियो सार्वजनिक भए पश्चात् भने धेरै घटनाहरू प्रमाणित हुदै गए। धेरै जना व्यक्तिहरूले उनीहरूबाट हिंसाको सामना गरेको कुरा बताए, तर आइपर्न सक्ने थप खतराको कारण कसैले पनि आफ्नो व्यक्तिगत विवरण भने खुलाएका छैनन्। 

परमेश्वरलाई भेट्न विशेष मापदण्ड राखि मानिसलाई अन्धभक्त बनाउने

सर्वशक्तिमान परमेश्वरको मण्डलीको सिद्धान्त अनुसार सर्वशक्तिमान परमेश्वर याङ सियांगबिनलाई (Yang Xiangbin) जो कोहीले भेट्न पाउँदैनन्। त्यसको लागि विशेष मापदण्डहरू पूरा गर्नुपर्ने हुन्छ। उनीहरू भन्ने गर्दछन् कि ख्रीष्ट याङ सियांगबिनलाई भेट्न पाउनको लागि उच्च स्तरको भक्तिको आवश्यकता पर्दछ। उनीहरूको शिक्षा अनुसार याङ सियांगबिनको  (Yang Xiangbin) श्रीमान झाओ विशान (Zhao Wishan) चाहिँ ख्रीष्टको प्रधान  पूजाहारी हुन्। त्यसैगरी अन्य पाँचजना भक्तहरू पनि छन् जसले सर्वशक्तिमान परमेश्वर याङ सियांगबिनलाई भेट्न सक्दछन्। प्रधान पुजारी झाओ र ती पाँच जना भक्तहरू बाहेक अन्य कसैले पनि सर्वशक्तिमान परमेश्वरसँग भेट गर्न भक्तिको मापदण्ड पूरा गर्न सकेका छैनन्। यसरी परमेश्वरलाई भेट्नको लागि एकदमै भक्तिको जीवन जिउनुपर्छ भनी मानिसहरूलाई आफ्नो शिक्षाको अन्धभक्त बनाउने गर्दछन्। 

झाओ विशान (Zhao Wishan) र याङ सियांगबिन (Yang Xiangbin) कहाँ बस्छन्?

जब चिनियाँ सरकारले सर्वशक्तिमान परमेश्वरको मण्डली नामक यो समूह गैरकानुनी हो भनी उनीहरूको विरुद्धमा कानुनी  कारबाही अघि बढायो, त्यस समयदेखि झाओ विशान (Zhao Wishan) र याङ सियांगबिन (Yang Xiangbin) भूमिगत जीवन बिताइरहेका छन्। जब चिनियाँ पुलिसले झाओ विशान (Zhao Wishan) र याङ सियांगबिन (Yang Xiangbin) लाई पक्राउको लागि खोजी कार्य तीव्र बनायो, त्यसपश्चात उनीहरूको अनुसन्धान यो निष्कर्षमा पुग्यो कि यी दुई आरोपीहरू सन् २००० मा भागेर अमेरिकाको शरणमा बसिरहेका छन्। तरै पनि उनीहरू यस बखत कहाँ छन् भनी कुनै आधिकारिक जानकारी कहीँ कतैबाट आएको छैन। 

सर्वशक्तिमान परमेश्वरको मण्डलीको क्रियाकलापहरू हेर्दा चिनियाँ पुलिसले निकालेको निष्कर्ष सही नै जस्तो देखिन्छ। किनकि अमेरिकाको न्युयोर्क सहरमा सर्वशक्तिमान परमेश्वरको मण्डली (The Church of Almighty God) भनि उनीहरूले एउटा चर्च भवन खडा गरेका छन्। त्यति मात्र नभएर उनीहरूले जे जस्ता क्रियाकलापहरू गर्दै आएका छन् ती क्रियाकलापहरू अमेरिकामा बसेर नै नियन्त्रण गरेको पाइन्छ। फेसबुक लगायतका सामाजिक सञ्जालहरूमा फेक आइडी बनाएर जे जति गतिविधिहरू उनीहरू गरिरहेका छन् उनीहरूले यो सब काम अमेरिका बसेरै गरिरहेको देखिन्छ। सामाजिक सञ्जालहरू होस् या अरू कुनै अनलाइन माध्यमहरूद्वारा जे जति तालिम बाइबल अध्ययन लगायत अन्य क्रियाकलापहरू गर्ने गर्दछन् उनीहरू अमेरिकामा बसेर नै यसो गरेको देखिन्छ। त्यसकारण झाओ विशान (Zhao Wishan) र याङ सियांगबिन (Yang Xiangbin) भूमिगत रूपमा अमेरिकामा शरण लिइ बसेको हुनसक्ने कुरालाई हामी सहजै इन्कार गर्न सक्दैनौँ। 

0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post